अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

वैदेशिक रोजगारीको विज्ञापन प्रकाशन नगर्ने १४८ म्यानपावरलाई विभागले गर्‍याे कारबाही

बिआरटीनेपाल २०७९ साउन १६ गते ७:५८ मा प्रकाशित

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ म्यानपावर कम्पनीलाई जरिवाना गराएको छ ।राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्न वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ संस्थालाई ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।पूर्व स्वीकृति लिएर पनि विज्ञापन प्रकाशन नगरेको पाइएपछि श्रम मन्त्री शेरबहादुर कुँवरको निर्देशनमा कारबाही गरिएको हो । १ सय ४८ इजाजतवाला म्यानपावर कम्पनीलाई ५० हजारका दरले जरिवाना गराउँदा ७४ लाख जरिवाना रकम सङ्कलन गरिएको विभागले जनाएको छ ।

साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले उनीहरूलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गराएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनु भएको छ । म्यानपावर कम्पनीले विज्ञापन प्रकाशन गरे नगरेको बारे विभागले करिब एक महिना लगाएर अनुगमन गरेको महानिर्देशक पौडेललेले बताउनुभयो । अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेर प्रकाशनको नाममा वैदेशिक रोजगार ऐनको दफा ४९ उल्लङ्घन गरेको विभागको ठहर छ ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ को १ मा कुनै पनि इजाजतपत्रवालाले दफा १६ बमोजिम विज्ञापन प्रकाशन नगरेमा वा विभागको स्वीकृति बिना विज्ञापन प्रकाशन गरेमा विभागले त्यस्तो इजाजतपत्रवालालाई पचास हजार रुपैयाँ जरिबाना गरी त्यस्तो विज्ञापन रद्द गर्न लगाउने कुरा उल्लेख छ ।   ऐनअनुसार कुनै पनि म्यानपावर कम्पनीले रोजगारदाताबाट ल्याएको माग र भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउनु पूर्व रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने देश, वैदेशिक रोजगारको किसिम, कामदारको किसिम र सङ्ख्या, कामदारले पाउने तलब सुविधासहितको जानकारीसहित सूचना प्रकाशित गर्नुपर्छ ।

सूचनामा बिदा, कामदारले काम गर्नुपर्ने दिन र समय, वैदेशिक रोजगारमा जाने मुलुकको आधिकारिक निकाय वा कूटनीतिक नियोग वा श्रम सहचारी वा चेम्बर अफ कमर्स वा नोटरी पब्लिकबाट प्रमाणित गरिएको मागपत्र र अख्तियारनामाको सक्कल प्रति, रोजगारदाता संस्था र कामदारबीच हुने करारको प्रतिलिपि, इजाजतपत्रवाला र कामदारबीच हुने करारको प्रतिलिपि हुनुपर्छ ।

ऐन अनुसार विभागबाट स्वीकृति प्राप्त भएपछि इजाजतपत्रवालाले तोकिए बमोजिमको विवरण खुल्ने गरी कामदार छनोट गर्न राष्ट्रिय स्तरको कुनै पनि दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नुपर्नेमा त्यसो नगरेको विभागको भनाइ छ । यसरी प्रकाशित भएको सूचना सम्बन्धित इजाजतपत्रवालाले आफ्नो कार्यालयको सूचना पाटीमा टाँसी सूचनाको एक प्रति त्यसै दिन विभाग पनि पेस गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू