अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

हेलमेट

गोपीराम भण्डारी 'बटुवा' २०७९ साउन १३ गते १५:३५ मा प्रकाशित

लघुकथा

बाइकको पछाडि बसेको ह्यारीले जेम्सलाई भन्यो, “ट्राफिक देख्यो कि लोदर लाग्छ, जहिलै बाटोमा चेक गरी बस्छ भन्या”। ह्या ! के भन्छ यो, लाइसेन्स बिलबुक बोकेकै छ फेरि त्यहीबाट फर्कने त हो नि किन डराएको जेम्सले आश्वस्त पार्‍यो । ट्राफिक प्रहरीले तुरुरु सिटी फुक्यो र रोक्न इसारा गर्‍यो । नसुने, नदेखे जसरी जेम्सले कुदाइरह्यो । सर, त्यो त भाग्यो, जवानले अफिसरलाई रिपोट गर्‍यो । अफिसरले भन्यो,“न आत्त न उड्ने होइन, गुडने चिज फेला परिहाल्छ” । उसले वाक्कीट्वाक्कीबाट अगाडि खबर गर्‍यो ।

“आज त ट्राफिकलाई मामु बनाइस् नि”, ह्यारीले भन्यो । जहिलै र्याग गर्छन् यार, आज पालो फेरियो । हु उ….. दुवै जना चिच्याए । अगाडि गाडीको जाम थियो । झन् हतार भएको बेला क्या यार नेपालमा ? यहाँ जाम लगाएका छन्, त्यहाँ चेक गरेर बसेका छन् । यस्तो जाम खुलाउनु नि ! झन् चेक नगराई आएको जाममा, क्या यार …। खुइया लामो श्वास फेर्दै थियो ,गाडीको भिड छिचोल्दै ट्राफिक प्रहरीले छेक्यो । उसले ह्यारीलाई ओर्लन र जेम्सलाई बाइक साइड लगाउन भन्यो । उनीहरूले भने,“हाम्रो के गल्ती”? “हेलमेट नलगाउने चेकिङमा भाग्ने ,अनि आफ्नो गल्ती छैन भन्ने, ओर्लनुस् ! यो जाम तपाईँको गति रोक्नको लागि हो”। ट्राफिकले आदेश दियो । लाइसेन्स दिँदै जेम्सले भन्यो,“ल चिट काटने त होला नि, चिट काट्नु ।अलि हतार छ,कलेज पनि जानु छ”। चिट मात्र होइन तपाइलाई हेलमेट न ल्याइ छोड्न मिल्दैन । तपाइहरू हेलमेट लिएर आउनुस् भन्दै चाबी लियो । चिट काटेपछि कमिसन पाकिहाल्यो नि, हामीले आफ्नो सम्पत्ति किन लान नपाउने ? ह्यारीले प्वाक्क बोल्यो । अँ हँ हुँदैन । हेलमेट लिएरै आउनु भन्दै ट्राफिक चोक तिर अगाडि बढ्यो । उनीहरूले सराप्दै गाडी चढे ।

केही बेर पछि हेलमेट ल्याएर दुबै जना आय । ट्राफिक प्रहरीले चाबी दियो । एक आपसमा गनगन गर्दै निक्लियौ । अलि पर पुगेपछि ड्वाङ्ख आवाज आयो । माइक्रोले मोटरसाइकललाई ठक्कर दियो । सबै जना दौडिओ । ह्यारी नालीमा उछिट्टियो । जेम्सको टाउको माइक्रोको पछाडिको टायरमा थियो । माइक्रो हेलमेटको ओट बनाएर अकडिएको थियो । माइक्रो बस पछाडि धकेलेर जेम्सलाई निकालेर सडक किनारामा ल्याए । जेम्सले आफ्नो टाउको छाम्यो । शरीर नियाल्यो । खुट्टामा सामान्य चोट थियो तर उसलाई केही भएको थिएन । ट्राफिक प्रहरीले सोध्यो, “तपाइलाई कस्तो छ हस्पिटल पुर्याइदिउँ कि”? जेम्सले चारैतिर नियाल्यो ।

ह्यारीलाइ कतै नदेखेपछि सोध्यो “मेरो साथी” ? चिन्ता नगर्नुस् तपाइको साथीको टाउकोमा सामान्य चोट छ । ठिक भइहाल्छ आत्तिनु पर्दैन । हामीले टिचिङ हस्पिटल पठाएका छौ । ट्राफिक प्रहरीले आश्वासन दिलायो । ऊ जुरुक्क उठ्यो । ट्राफिक प्रहरीलाई हेरेर बरर आँसु खसाल्यो र झ्याप्प अँगालो हाल्यो । उसले रुदै भन्यो,मलाइ यमराजको मुखबाट थुतेर ल्याउनु भएकोमा धन्यवाद । ट्राफिक प्रहरीले भन्यो “तपाइको सडक सुरक्षा हाम्रो सरोकार, ट्राफिक नियम तपाइलाई उपहार”। जेम्सले भन्यो,“सरी यार ! आइ नेभर फर्गेट हेलमेट एन्ड यु टु” । ऊ ट्राफिक प्रहरीको अंगालोम हेलमेट चुमिरहेको थियो । वरिपरि मानिस झुमिइरहेका थिए ।