अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 07:32

नेजाको १५ औँ साधारणसभा हुँदै साधारणसभा विधान संशोधनमा केन्द्रीकृत, तयारी अन्तिम चरणमा

बिआरटीनेपाल २०७९ साउन ६ गते ८:३९ मा प्रकाशित

अमेरिका स्थित नेपाली मूलका पत्रकारहरूको सङ्गठन नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को १५औँ साधारणसभा हुने भएको छ। नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीको प्रमुख आतिथ्यता रहने उक्त साधारणसभा, यहीँ आउँदो जुलाई २३ र २४ तारिखका दिन अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा हुन लागेको हो। साधारणसभाको मिति नजिकिँदै गर्दा साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्था आवश्यक तयारीमा जुटिरहेको छ। गत वर्ष भर्जिनियामा सम्पन्न सातौँ अधिवेशनबाट निर्वाचित कार्य समितिले यस १५ औँ साधारणसभालाई प्राथमिकताका साथ मूलतः संस्थाले गरेका क्रियाकलापहरू, भावी योजनाहरू, आर्थिक गतिविधिहरू, विधान संशोधन, आचारसंहिता र पुरस्कार तथा सम्मान कार्यविधि लगायतका विषयहरूमा केन्द्रीकृत गर्ने गरी तयारी गरिरहेको जनाएको छ। संस्थाका अध्यक्ष विकासराज न्यौपानेले साधारणसभाको तयारीका सम्बन्धनमा जानकारी दिँदै भन्नु भयो, ‘हामी साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न कार्य विभाजन गरी तीव्रताका साथ आवश्यक तयारीमा जुटिरहेका छौँ। सबैले आआफ्नो जिम्मेवारी अनुसार काम गरिरहनु भएको छ।’ अध्यक्ष न्यौपानेले सरोकारवालाहरूलाई साधारणसभामा उपस्थितका लागि विशेष अनुरोध गर्दै भन्नु भयो,’ यो वार्षिक साधारणसभा निकै महत्त्वपूर्ण छ। यसलाई संस्थागत रूपमा बढी भन्दा बढी उपलब्धिमूलक बनाइ सफलतापूर्वक सम्पन्न गर्न गरिमामय उपस्थितका लागि सम्पूर्ण सदस्य तथा सम्बन्धित सबैलाई हामी नेजा परिवार विशेष अनुरोध गर्दछौँ।’

संस्थाको लक्ष्य अनुसार यस पटकको साधारणसभा विधान परिमार्जन र आचारसंहिता तयार गर्नमा पनि केन्द्रीकृत हुने भएको छ। जस अनुसार, सङ्घको विधान संशोधनका लागि प्रस्ताव लगिनेछ ।

आम सदस्यहरूसँगबाट राय माग गरी विधान संशोधन उपसमितिले तयार पारेको ड्राफ्टलाई कार्यसमितिले अन्तिम रूप दिएर साधारण सभामा लग्न लागेको हो ।

पत्रकारितालाई थप व्यवस्थित, मर्यादित, विश्वसनीय र उत्तरदायी बनाउन आचारसंहिता बनाउने तयारी गरिएको छ। यस सम्बन्धमा अध्यक्ष न्यौपानेले भन्नु भयो,’ विद्यमान विधानमा समयानुकूल संशोधन गर्नु पर्ने आवश्यकता महसुस गरिएकोले, त्यसका लागि ठोस काम गर्न उपसमिति समेत गठन गरी आवश्यक तयारीमा जुटिरहेका छौँ। सदस्यहरुबाट पनि सुझाव सल्लाहहरू सङ्कलन गरी अन्तिम निर्णयका लागि साधारणसभामा प्रस्तुत गर्ने गरी काम भइरहेको छ।’ अध्यक्ष न्यौपानेले दिनु भएको जानकारी अनुसार यस साधारणसभाले पत्रकारिता आचारसंहिता पारित गरी अक्षरशः कार्यान्वयनका लागि निर्देशन गर्ने भएको छ।

अमेरिकामा सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूले सामुदायिक पत्रकारितामा बढी केन्द्रीकृत भएर नेपाल र नेपालीको पहिचान तथा उत्थानमा यथाशक्य महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेका छन्।

सङ्घका महासचिव सुरज भण्डारीले दिनु भएको जानकारी अनुसार दुई दिने साधारणसभाको कार्यक्रम मुख्य गरी उद्घाटन सत्र, बन्द सत्र र समापन गरी तीन चरणमा सञ्चालन गरिने भएको छ। साधारणसभाको उद्घाटन पश्चात् वन्दसत्रमा, संस्थागत गतिविधिहरू समेटिएको महासचिवको प्रतिवेदन र आर्थिक कारोबारहरू समेटिएको कोषाध्यक्षको प्रतिवेदन उपर आवश्यक छलफल गरिने र पारित गरिने छ भने, यस्तै विधान उपर आवश्यक छलफल गरी संशोधन गरी पारित गरिने कार्य तालिका तयार गरिएको छ।महासचिव भण्डारीले भन्नु भयो,’ साधारणसभामा मुख्य गरी महासचिव र कोषाध्यक्षहरूले प्रस्तुत गर्नु हुने प्रतिवेदनहरू उपल छलफल गरी पारित गरिने छ।’ उहाँले भन्नु भयो,’ यो साधारणसभालाई विधान संशोधन, पत्रकारिता आचारसंहिता र पुरस्कार तथा सम्मान कार्यविधिमा पनि विशेष रूपमा केन्द्रीकृत गर्ने छौँ।विद्यमान विधान उपर आवश्यक छलफल गरी आवश्यकता अनुसार संशोधन समेत गर्ने छौँ भने, पत्रकारितालाई थप व्यवस्थित तथा मर्यादित बनाउन आचारसंहिता तयार गर्ने छौँ।’ संस्थाले विधान संशोधनका लागि आवश्यक तयारी गर्न भनी, यस अघि नै गिरीश पोखरेलको संयोजकत्वमा, सदस्यहरू कल्पना घिमिरे, सुजन पण्डित, गोकुल श्रेष्ठ, प्रतिमा बाँस्कोटा, रामचन्द्र भट्ट र मधुकर अधिकारी रहेको सात सदस्यीय विधान संशोधन उपसमिति गठन गरेको थियो। सोही जिम्मेवारी अनुसार विधान संशोधन उपसमितिले पनि तीव्रताका साथ आफ्नो जिम्मेवारीको काम गरिरहेको महासचिव भण्डारीले जानकारी दिनु भयो। उहाँले भन्नु भयो,’ संस्थाले वितरण गर्ने पुरस्कार र योगदानको कदर स्वरूप गर्ने सम्मानलाई व्यवस्थित गर्न पुरस्कार तथा सम्मान विनियमावली पारित गर्ने तयारी छ।’

सन् २००७ मा स्थापना भएको यस संस्थाले यसै वर्षदेखि आफ्नो संस्थागत गतिविधिहरूलाई समेटेर वार्षिक बुलेटिन प्रकाशित गर्ने तयारी पनि गरेको छ । त्यसका लागि बाबुराम दाहाल संयोजक तथा लेखनाथ भण्डारी, राजु आचार्य, सुपेन्द्र बस्नेत, रामचन्द्र भट्ट, प्रतिमा बाँस्कोटा र लेखनाथ गौतम सदस्य रहने गरी गठित सात सदस्यीय प्रकाशन उपसमितिलाई जिम्मेवारी सुम्पिएको छ। साधारणसभाको तयारीका सम्बन्धमा नेजाका पश्चिम क्षेत्रका संयोजक तथा कन्भेनर शिव नेपालले दिनु भएको जानकारी अनुसार तयारी अन्तिम चरणमा पुगेको छ।

सङ्घका सदस्य तथा पाहुनाहरूको स्वागत, खाना तथा बसाइ र कार्यक्रम स्थलको व्यवस्थापन कार्य लगभग पुरा भैसकेको छ। कन्भेनर नेपालले भन्नु भयो,’ हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ। स्वागतका लागि हामी आतुर छौँ। सबैलाई पाल्नु हुन अनुरोध छ।’

यसैबिच, सङ्घले आफ्नो साधारणसभाको अवसर पारेर आमा फाउण्डेशनसंगको सहकार्यमा एक हजार एक सय एघार डलर एघार पैसा राशिको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’ समेत प्रदान गर्ने गरी आवश्यक तयारी गरिरहेको सङ्घले जनाएको छ । त्यसका लागि प्रक्रियामा भाग लिन संस्थाले इच्छुक क्रियाशील पत्रकार तथा सञ्चार सम्बद्ध संस्थाहरुलाई आव्हान समेत गरेको छ ।

प्रतिक्रिया