अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

तपाईँ : हिजो र आज

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ असार ३२ गते १५:५६ मा प्रकाशित

हिजोसम्म देशको
राजनीतिको होस् कि प्रशासनको
ठुलै पदमा बस्ने सौभाग्य पाउने
ठुलो मान्छे तपाईँलाई नै
सबैले भ्रष्टाचारी र घुस्याहा भन्थे !
अब पदको अवधि सकिएर
भूतपूर्व बनेपछि
एकाएक सबैलाई
तपाईँ नै नैतिकताको पाठ
पढाउन थाल्नुभएछ !

साँच्चै धर्मको भावनाले
हो वा पापको पीडाले ?
तपाईँ त अचेल
बिहान- बेलुकै
मन्दिरमन्दिर
धाउन पनि थाल्नुभएछ !

मालिक मालिकका
ढोकामा धाएर
माल र पद मिलाउँदै
कानेखुसी गर्दा
पदको व्यस्तताले
हिजो त
के फुर्सद थियो होला र ?
अब फुर्सद मिलेरै त होला ?
तपाईँ बडो स्वाभिमानको
कथा पनि लेख्न थाल्नुभएछ !
हिजोसम्म स्वतन्त्रता
खोज्नेहरूका शिरमा
गर्वले लाठी हान्ने
तपाईँ नै
अब त
स्वतन्त्रताप्राप्तिमा
आफ्नो अमूल्य योगदानको
निकै लामो जीवनवृत्त पनि
लेख्न थाल्नुभएछ !

मौसमी अवतारका
पढेर कहिले सकिन्छन्
तपाईँका यी विचित्रलीला ?

अँ साँच्चै !
तपाईँका नसानसा छाम्नेहरूले
तपाईँका पाइलापाइला नाप्नेहरूले
तपाईँका यी अक्षरहरूमा
तपाईँको सक्कली रूप कति भेट्लान् ?
तोक्नै परे मान्छेको मोल
यस बजारमा
तपाईँको चाहिँ कति तोक्लान् ?
तपाईँका सामाजिक योगदान
कति देख्लान् ?
शिरदेखि पाउसम्म पुरै छाम्नेहरूले
तपाईँको यस आवरणभित्र
तपाईँको आचरणचाहिँ
कुन रूपको
कस्तो भेट्लान् ?

अदालत र अख्तियारहरू
भनेकै जस्ता कर्मशील हुन्थे भने
तपाईँका लामा लामा हातहरूका
देखिँदै गरेका सान र रवाफ
सोच्नुहोस् त
यस्तै हुन्थे होला त ? !!
—————–
गोरखा, लप्सीबोट; हाल: काठमाडौँ – ६, सरस्वतीनगर ।