अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षासम्बन्धी सेमिनार सम्पन्न

बिआरटीनेपाल २०७९ असार २३ गते ८:२५ मा प्रकाशित

प्रधानसेनापति प्रभुराम शर्माले समस्या जस्तोसुकै विकराल र जटिल भएता पनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सबै सम्बद्ध निकायहरूबीच निरन्तर समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । नेपाली सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयले आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरू’ विषयक दुई दिवसीय सेमिनार समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

शर्माले नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरूमध्ये सीमा सुरक्षाको विषयलाई हर्दम राष्ट्रिय सुरक्षा र क्षेत्रीय अखण्डतासँग जोड्दै निरन्तर अध्ययन तथा अनुसन्धान गर्दै आइरहेको जिकिर गर्दै सीमा क्षेत्रमा हुने अवाञ्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध सबै पक्ष चनाखो भई प्रयासरत रहनुको विकल्प नरहेको बताउनुभयो । उक्त दुई दिवसीय सेमिनारको दौरानमा नेपालको अन्तर्राष्ट्रिय सिमानाको वर्तमान अवस्था-सीमा सुरक्षा र व्यवस्थापनमा देखिएका चुनौती तथा सुधारका क्षेत्रहरूबारे प्रस्तुति दिइएको थियो ।

यस्तै, नेपालको अन्तर्राष्ट्रिय सीमानामा हुने अवैध गतिविधि र सोको निराकरणका उपायहरू- सीमा सुरक्षामा सेनाको जिम्मेवारी तथा एकीकृत सीमा सुरक्षा अवधारणाको आवश्यकतास सीमा सुरक्षा तथा व्यवस्थापनमा राष्ट्रिय अनुसन्धान विभागको जिम्मेवारी एवं भूमिका र सीमा सुरक्षामा दीर्घकालीनरूपमा खलल पुर्‍याउने विषय तथा नियन्त्रणका उपायहरूबारे पनि प्रस्तुतीकरण र छलफल भएको थियो ।

राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा सीमा व्यवस्थापन, वर्तमान अवस्था र भावी कार्यदिशास नेपालको सीमा विवाद समाधानका लागि भइरहेको कूटनीतिक पहल र आगामी कार्य योजनास नेपालको अन्तर्राष्ट्रिय सीमानाको सीमांकनसम्बन्धी प्राविधिक पक्ष लगायतका विषयहरूमा पनि छलफल भएको थियो ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनका चुनौतीहरू पहिचान गर्न, नेपालको अन्तर्राष्ट्रिय सीमानामा हुने गरेका विभिन्न अवैध गतिविधिहरू नियन्त्रण गर्न तथा सीमा सुरक्षाका लागि नवीनतम योजनाहरू तयार गरी कार्यान्वयनमा ल्याउन यस प्रकारका सेमिनारहरू प्रभावकारी सावित हुने विश्वास सेनाले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू