अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५५ | Colorodo: 08:10

माओवादीले १५ जना स्थायी कमिटी सदस्यको नाम टुङ्ग्यायो, पोलिटब्युरो १ सय ५६ सदस्यीय हुने

बिआरटीनेपाल २०७९ असार २३ गते ८:२० मा प्रकाशित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी ४१ सदस्यीय हुने भएको छ । काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका सदस्यका एक तिहाइसम्म स्थायी कमिटी सदस्य बनाउन सकिने विधानमा भएको व्यवस्थाअनुसार ४१ सदस्यीय स्थायी कमिटी हुने जानकारी दिनुभयो ।

प्रचण्डले यसअघि नै सदस्य रहेका १५ जनाको नाम वाचन गर्नुभएको छ । बाँकीको नाम छिटै टुङ्गो लगाउने उहाँको भनाइ छ । प्रचण्डले आफूसहित नारायणणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मात्रिका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत र हरिबोल गजुरेलको नाम टुङ्गिएको र बाँकीको पनि चाँडै टुङ्ग्याउने बताउनुभयो ।

यसैबीच माओवादीको पोलिटब्युरो कमिटी एक सय ५६ सदस्यीय हुने भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि एक सय २५ जनाको नाम वाचन गर्नुभएको थियो । तर पार्टीमा लामो समय योगदान गरेका नेताहरूको नाम पोलिटब्युरोमा समावेश नभएको भन्दै विरोध भएपछि बैठक एक घण्टाको लागि स्थगित भएको थियो । विरोधपछि प्रचण्डले एक सय २५ जना पोलिटब्युरो सदस्य रहने र बाँकी ३१ जना वैकल्पिक सदस्यको रूपमा रहने भन्दै विवाद मिलाउनुभएको छ । उहाँले ‘सिनियर’ नेता पोलिब्युरो र ‘जुनियर’ नेता वैकल्पिक पोलिटब्युरो सदस्य हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू