अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

चीनसँगका सबै समस्या चाँडाे समाधान गर्नुपर्नेमा भारतको जोड

बिआरटीनेपाल २०७९ असार २३ गते ८:०४ मा प्रकाशित

पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ । इन्डाेनेसियाकाे बालीमा आज बिहीवारदेखि सुरु भएको जी–२० का विदेशमन्त्रीको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भएको भेटमा भारतका विदेशमन्त्री एस जयशङ्करले काेरोना महामारीका कारण घर फर्किएका आफ्नो देशका विद्यार्थीलाई चीन फर्काउन तथा एलएसीसम्बन्धी बाँकी मुद्दा चाँडो समाधान गर्न आह्वान गर्नुभएकाे हाे ।

भारतका विदेशमन्त्रीले भारतीय विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया शीघ्र अघि बढाउन तथा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा बाँकी रहेका कामलाई गति दिनुपर्नेमा जोड दिएका विदेश मन्त्रालयले जनाएको छ । विदेशमन्त्री जयशङ्करले द्विपक्षीय सम्झौता र प्रोटोकलको पूर्णपालनाका साथै आफूहरूबीच अघिल्लो भेटवार्तामा भएका समझदारीको पालना महत्त्वपूर्ण हुने बताउनुभयाे ।

दुवै मन्त्रीले चीन र भारतका सैनिक एवम् कुटनीतिक अधिकारीबीचको नियमित सम्पर्कलाई निरन्तरता दिनुपर्ने बताउँदै शीघ्र अर्को चरणको वरिष्ठ सैन्य अधिकारीको बैठकको प्रतीक्षामा आफूहरू रहेको जनाए । पारस्परिक सम्मान, पारस्परिक संवेदनशीलता र पारस्परिक हितमा आधारित द्विपक्षीय सम्बन्धले गति लिने भारतीय विदेशमन्त्री जयशङ्करले दोहोर्‍याउनुभएकाे थियाे ।

दुवै देशका मन्त्रीबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा पनि विचार आदानप्रदान भएको थियो । दुई वर्षअघि गलवान उपत्यकामा भारत र चीनबीच भएको भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएपछि दुई देशबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । यद्यपि द्विपक्षीय व्यापार निर्वाधरूपमा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू