अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५४ | Colorodo: 10:09

थप ७ कराेड १० लाख जना मानिस चरम गरिबीमा पुग्ने यूएनडीपीको चेतावनी

बिआरटीनेपाल २०७९ असार २३ गते ८:०० मा प्रकाशित

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले थप सात करोड १० लाख जना नागरिक चरम गरिबीमा पुग्ने चेतावनी दिएको छ । यूएनडीपीले प्रकाशित गरेको नयाँ प्रतिवेदनले बढ्दो महँगी र जीवन निर्वाहमा परिरहेको समस्या कारण गरिब देशका सात करोड १० लाख जनसङ्ख्या चरम गरिबीमा धकेलिने जोखिम रहेको जनाएको हो ।

यूएनडीपीका प्रशासक अचिम स्टेनरले बढ्दो महँगीले अफ्रिका र एसियाका गरिब देशका नागरिक यसअघि नै समस्यामा परिसकेको उल्लेख गर्दै पछिल्लो समयको सङ्कटले एक सय ५९ विकासोन्मुख देशका लाखौँ नागरिक समस्यामा पर्ने देखिएको बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

रिपोर्टका अनुसार सबैभन्दा गरिब देशका पाँच करोड १० लाख जना मानिस दैनिक एक डलर ९० सेन्ट र निम्न आय भएका देशका दुई करोड जना मानिस दैनिक तीन डलर २० सेन्टमा दैनिकी गुजार्न बाध्य भएका छन् । यस्तै मध्यम आय भएका देशका नागरिकले दैनिक साढे पाँच डलरमा आफ्नो दैनिकी बिताइरहेका प्रतिवेदनमा उल्लेख छ ।

केही महिनाभित्र १७ करोड १० लाख जना नागरिक गरिबीको रेखामा पुग्ने यूएनडीपीको अनुमान छ । सरकारहरूले दिइरहेको अनुदान र राहत हुने–खानेले नै लिइरहेको उल्लेख गर्दै यूएनडीपीले खाद्यान्न र ऊर्जामा निम्न आय भएका नागरिकलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू