अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

निर्वाचन आयोगले तोकेको खर्च अव्यावहारिक : पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल

बिआरटीनेपाल २०७९ असार २३ गते ७:२९ मा प्रकाशित

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यावहारिक भएको आरोप लगाउनुभएको छ ।बिहीबार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्दै उहाँले निर्वाचनमा उम्मेदवारी दिएका नेताहरूले नै निर्वाचन आयोगले तोकेको भन्दा ८ गुणा बढी रकम खर्च हुने उल्लेख गरेको भन्दै यो अव्यवहारिक भएको बताउनुभयो ।

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा धेरै पैसा खर्च हुने चिन्ता मात्र नभइ राजनीतिज्ञहरूलाई पैसाले किन्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन संयन्त्र अपराधीको पकडमा जानुले पनि समस्या सिर्जना भइरहको बताउनुभयो ।पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनको परिणामलाई पैसाले किन्नुपर्ने बाध्यता सिर्जना हुनुले देशलाई क्षति पुगने बताउनुभयो ।पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले चुनावमा खर्च गर्न आउने बाहिरी पैसाको श्रोत खोज्न आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचनताका कालो धनलाई सेतो बनाउन मिल्ने भएकाले बाहिरी पैसा ल्याउने चलखेलले देश दुर्घटनातर्फ जाने चेतावनी दिनुभयो ।

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले केही समयअघि मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पैसाविना चुनाव लड्न नसक्ने मन्तव्य दिएको उल्लेख गर्दै कालो धनलाई रोक्न एक्सनमा जानुको विकल्प नरहेको बताउनुभयो ।पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले पार्टीका कारण स्थानीय निर्वाचन स्थानीय जस्तो नभएको भन्दै पार्टीविनाको स्थानीय निर्वाचन प्रणालीमा जान मुलुकले सोच्नुपर्ने बताउनुभयो । उहाँले मतदाता नामावली दर्ता निर्वाचन आयोगले गर्न जरुरी नरहेको र संघीय प्रणालीमा गइसकेपछि यो काम स्थानीय सरकारले गर्ने बताउनुभयो । पोखरेलले निर्वाचनको निष्पक्षतामाथि आर्थिक प्रभावले ठूलो अवरोध खडा गरेको भन्दै निर्वाचनको सुरक्षा स्थानीय निकाय र राजनीतिक दलहरुलाई दिनुपर्ने प्रस्ताव अघि सार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू