अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

नागरिक अगुवाहरूद्वारा अर्थमन्त्री शर्माको राजीनामा माग

बिआरटीनेपाल २०७९ असार २० गते ८:१० मा प्रकाशित

नागरिक अगुवाहरूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।पूर्व प्रधानन्याायधीश शुशीला कार्की, पूर्वउपकुलपति केदार भक्त माथेमा र डा. गोविन्द केसीले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अनाधिकृत व्यक्तिको बजेट निर्माणमा संलग्नता नभएको प्रमाणित गर्न या त पदबाट राजीनामा दिन माग गरेका हुन् ।प्रेस विज्ञप्तिमा अर्थमन्त्री शर्माविरुद्ध बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति संलग्न भएको र उनीहरूकै इशारामा करको दायरा हेरफेर गरिएको र सो विषयमा छानविन समिति गठन गर्नुपर्ने संसदीय समितिको निर्देशन सत्तारुढ गठबन्धनका दलहरुले लत्याएको आरोप लगाइएको छ ।

साथै, शर्माले चित्तबुझ्दो जवाफ समेत नदिएको र उक्त समयको सीसीटिभी फुटेज समेत हटाइएको भन्दै नैतिकता गुमाएको व्यक्ति पदमा बसिरहदा सरकारको छवि थप धुमिल हुने उल्लेख गरिएको छ ।यस्तै नागरिक अगुवाहरूले सिसिटीभी जडान तथा सञ्चालन कार्यविधि २०७२ उल्लंघन गर्ने कार्यमा संलग्न व्यक्ति वा निकाय वा दुवैलाई तत्काल कानूनबमोजिम कारबाही गर्न पनि माग गरेका छन् ।

यस्तै उहाँहरूले बाराको निजगढ भ्रमणमा सत्ता गठबन्धनका नेताहरूले निजगढमानै विमानस्थल बनाउने प्रतिवद्धता गरेको तर सर्वोच्च अदालतले कायम गरेका बन्देज र दिएको आदेश पालना गर्ने कुरा खुलेर नभनेकोमा समेत गम्भीर आपत्ति जनाएका छन् ।यस्तै उक्त अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी कुनै पनि काम गर्दा अदालतको आदेश प्रतिकूल वा मानहानि हुने गरी नगर्न पनि ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू