अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 13:21

इम्बोस्ड नम्बर प्लेटको औचित्य पुष्टि गर्ने समिति गठन गर्न नवनियुक्त मन्त्री राईको निर्देशन

बिआरटीनेपाल २०७९ असार २० गते ८:०८ मा प्रकाशित

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य पुष्टि गर्नेगरी समिति गठन गर्न निर्देशन दिनुभएको छ ।सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालयमा पदबहाली गर्ने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले सरकारले लागू गरेका स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको औचित्यका विषयमा सहसचिवको नेतृत्वको अध्ययन समितिको प्रतिवेदनका आधारमा मात्रै अगाडि बढ्ने बताउनुभयो ।मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट लागू गर्ने कुनै मेकानिजमविना लागू भएकाले विवाद भइरहेको बताउनुभयो ।उहाँले स्मार्ट लाइसेन्स, इम्बोस्ट नम्बर प्लेट वितरणको औचित्य र सडक र रेलमार्ग एवं यातायातका रुग्ण आयोजनाहरुको पनि अध्ययन गरेर कारबाही थालिने बताउनुभयो ।

भौतिक पूर्वाधार देशकै सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने मन्त्रालय भएको भन्दै उहाँले अब रुग्ण आयोजनालाई सहनशीलताको नीतिबाट नहेर्ने बताउनुभयो ।रुग्ण आयोजनाहरूलाई शून्यमा झार्न के गर्नुपर्छ भन्नेकुरा अध्ययन प्रतिवेदन आएपछि काम गर्ने बताउनुभयो । उहाँँले १५ दिनमा दुईवटा समितिको प्रतिवेदन आएपछि मात्रै एक्सनमा उत्रने बताउनुभयो ।मन्त्री राईले पूर्वाधार पुल/पुलेसा लगायत विकास निर्माणमा व्यवस्थापनका लागि वर्षे, टुक्रे योजनामा खर्च देखाउने हिसाबले मात्रै नभएर परिणाम देखिने गरी रुग्ण आयोजनाहरूलाई समेत शून्यमा झार्नुपर्ने बताउनुभयो ।

नवनियुक्त मन्त्री राई फरक ढङ्गले काम गरे केही सुधार गर्ने पक्षमा देखिनुभएको छ । मन्त्रालयमा पदबहाली गर्न पुगेलगत्तै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले प्रस्ताव गर्नुभएको राष्ट्रिय यातायात नीतिको मस्यौदा कमिटी गठन गर्ने निर्णयसँगै स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट वितरणको औचित्य र वितरण सुधारबारे अध्ययन गर्न सहसचिवको नेतृत्वमा समिति बनाउने निर्णय गर्नेगरी मस्यौदा बनाउन निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू