अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

नेपालमा लगानी गर्न महावाणिज्य दूतावास अमेरिकाको आव्हान

गोकुल श्रेष्ठ २०७९ असार १९ गते १७:२० मा प्रकाशित

न्यु योर्क । अमेरिकी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न नेपाली महावाणिज्य दूतावासले आव्हान गरेको छ । न्यु योर्क स्थित नेपाली महावाणिज्य दूतावासले नेपालमा लगानीका अवसरहरू विषयक अन्तरक्रिया कार्यक्रम गरी अमेरिकी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आव्हान गरेको हो । नेपाल अमेरिका कुट्नीतिक सम्बन्धको ७५ औँ वार्षिकोत्सवको अवसर पारेर न्यूयोर्कको म्यानह्याटनमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा न्यु योर्क र न्यूजर्सी राज्यका व्यवसायीहरूको सहभागिता रहेको थियो । ग्रेटर न्यु योर्क चेम्बर अफ कमर्ससँगको सहकार्यमा महावाणिज्य दूतावासले बिहीबार आयोजना गरेको कार्यक्रममा दुई पक्षीय सम्बन्ध एवं लगानी प्रवर्द्धनका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपालको वैदेशिक लगानी नीति, कानुनी र संस्थागत संरचना एवं लगानीलाई प्रोत्साहन गर्न तथा व्यवसाय प्रवर्द्धन गर्न विदेशी लगानीकर्ताहरूलाई प्रदान गरिएका लगानी र सुविधाका प्रमुख क्षेत्रहरूबारे जानकारी गराएका थिए । उनले नेपालमा आर्थिक वृद्धि र रोजगारी सृजनाका लागि अमेरिकी लगानीकर्ताको लगानी र सहयोगको प्रशंसा पनि गरे । कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत गौतमले “नेपालमा लगानीका अवसरहरू: साझा समृद्धिको लागि मित्रता र व्यवसाय प्रवद्र्धन” विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । उदार र खुला वैदेशिक लगानी नीति र लगानीका विभिन्न क्षेत्रमा उपलब्ध अवसरहरूमा केन्द्रित उनले कार्यपत्रमा लगानी बोर्ड नेपालको प्रोजेक्ट बैङ्क, पूर्वाधार र दिगो विकासमा सहयोग गर्ने अन्य उदीयमान क्षेत्रका प्रमुख आयोजनाहरूका बारेमा उल्लेख गर्दै नेपालमा लगानी गर्न आह्वान गरे ।

कार्यक्रममा ग्रेटर न्यु योर्क चेम्बर अफ कमर्सका अध्यक्ष एवं सिइओ मार्क जाफले आफ्नो उद्घाटन मन्तव्यमा नेपालका चेम्बर र कन्सुलेट जनरल तथा न्यूयोर्कमा नेपाली व्यापारी समुदायबिचको साझेदारी विकास हुनुपर्ने विचार राखेका थिए । उनले नेपालसँग व्यापार आदानप्रदान र अन्तरक्रिया प्रवद्र्धन गर्नु पर्ने विचार व्यक्त गरे । कार्यक्रममा चर्चित व्यवसायी डा. लियोङ यिङले नेपालसँगको आफ्नो वर्तमान संलग्नताको अनुभव स्मरण गरेका थिए । उनले नेपालमा चिकित्सा, पर्यटन, पूर्वाधार परियोजनामा प्रस्तावित लगानीलाई अन्तिम रूप दिने आशा व्यक्त गरेका थिए । त्यस्तै अर्का व्यवसायी जोन मेसरले विश्वका विभिन्न भागमा आफ्नो कम्पनीको उपस्थितिका बारेमा प्रस्ट्याउँदै नेपालमा नवीकरणीय ऊर्जा, कृषि लगायत हरियाली प्रबद्र्धनका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी गराएका थिए ।

सम्भावित लगानीकर्ता, चेम्बरका सदस्य, एनआरएन प्रतिनिधि, नेपाली अमेरिकी व्यवसायी तथा व्यावसायिक समुदायले पनि नेपालमा लगानी प्रवर्द्धनका लागि आफ्नो विचार, सुझाव, भूमिका र योगदानको बारेमा धारणा राखेका थिए । कार्यक्रममा न्यूयोर्कका व्यवसायी समुदायलाई नेपालमा हालको लगानीको वातावरण र अवसरहरू, कानुनी प्रक्रिया एवं प्रोत्साहनका बारेमा विशेष जानकारी गराउनुका साथै डायस्पोराका नेपाली व्यवसायी तथा व्यावसायिक समुदायसँग जोडिने अवसर प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू