अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२८ | Colorodo: 10:43

विदेशी शैक्षिक संस्थाको मनपरी विरुद्ध आन्दोलन गर्ने अखिल क्रान्तिकारीको घोषणा

बिआरटीनेपाल २०७९ असार १७ गते ८:४८ मा प्रकाशित

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) ले नेपालमा खुलेका विदेशी शैक्षिक संस्थाको मनपरी विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । हालै काठमाडौँमा सम्पन्न सङ्गठनको विशेष राष्ट्रिय भेलाले नेपाली शैक्षिक संस्थालाई धरासायी बनाउने गरी विदेश शैक्षिक संस्था अघि बढेको निष्कर्ष निकाल्दै त्यस विरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको हो ।

संवाद डबलीमा नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन गरी विदेशी शैक्षिक संस्थासँगै मेडिकल शिक्षामा भइरहेको माफियाको दादागिरी अन्त्य गरी सरकारको लगानीमा मेडिकल कलेजहरूको विस्तारको लागि सङ्गठनले सङ्घर्ष गर्ने बताएको छ ।

भेलाबाट नवनिर्वाचित अध्यक्ष मिलन राईले विदेशी शैक्षिक संस्थाहरूले सम्बन्धनको हवाला दिँदै कमिसन खुवाएर वर्षमा दुई पटक भर्ना लिने गरेको तर शिक्षा गुणस्तर, भौतिक संरचनाको अनुगमन नहुने गरेको बताए । उनले विदेशी शैक्षिक संस्थाहरूले नेपाली विद्यार्थीहरूलाई लुटिरहेको समेत आरोप लगाए । उनले विदेशी शैक्षिक संस्ठाहरुले पुँजी पलायन समेत गरेको बताउँदै स्वदेशी शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने बताए ।

“विशेष राष्ट्रिय भेलाबाट सङ्घर्षका निसाना ठोस गरेका छौँ, आवश्यकतामा हामी सार्वजनिक गर्दै जानेछौँ । सरकारीमा जागिर खाएर निजी शैक्षिक संस्था विज्ञापन गर्ने दलाल शिक्षक हाम्रो निसानामा पर्नेवाला छन् । सम्बन्धको हवाला दिएर विदेशी शैक्षिक संस्थाहरूले कमिसन खुवाएर वर्षमै दुई तिन पटकसम्म भर्ना लिएका छन्, विद्यार्थीलाई लुटिरहेका छन्, हाम्रो निसाना त्यस्ता शैक्षिक संस्थाहरू पनि हाम्रो सङ्घर्षको निसामा छन्” अध्यक्ष राईले भने । उनले त्रिविले पनि कमिसन खाएर जग्गा भाडा दिएको तर कहिल्यै नतिरेको बताउँदै त्यस विरुद्ध पनि आफूहरूले सङ्घर्षको एजेन्डा बनाउने बताए ।

भेलाले बढ्दो छात्रा हिंसा नियन्त्रण गर्न, सुन्दरी प्रतियोगिता खारेज गर्न र छात्रा सशक्तीकरण कार्यक्रम हरेक शिक्षालयमा सञ्चालन गर्न माग समेत गरेको छ । त्यस्तै, एमसीसी र एसपीपी सम्झौता अमेरिकी सैन्य रणनीति इण्डोप्यासिफिक रणनीति अन्तरगत भएको भन्दै भेलाले खारेजीको माग गरेको छ ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भेलाले विप्लव नेतृत्वको नेकपासँग सम्बन्ध विच्छेद गरी निरन्तर क्रान्तिको मार्गमा अघि बढ्ने पार्टी नेतृत्वको कदमको भेलाले स्वागत गरेको उल्लेख छ ।

“विप्लव नेतृत्वको नेकपाभित्र देखा परेको दार्शनिक रूपमा सारसंग्रहवाद, राजनीतिक रुपमले संसदीय संशोधनवाद, सङ्गठनात्मक रूपले निषेधात्मक अभिभूतवाद तथा विसर्जनवाद, सङ्घर्षमा आत्मसुरक्षावाद र आर्थिक हिसाबले जुझारु अर्थवादका विरुद निर्णायक सम्बन्ध विच्छेद गरी निरन्तर क्रान्तिको मार्गमा अघि बढिरहेको कार्यप्रति यो विशेष राष्ट्रिय भेला हार्दिक स्वागत गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष वीरेन्द्र शाह, महासचिव रुपा बुढामगर, सचिव नवराज भट्ट र कोषाध्यक्ष दीपक विष्टले आफूहरूले विगतको नेतृत्वले जस्तो पैसामा विद्यार्थीका एजेन्डा नसाट्ने र शैक्षिक क्षेमा भइरहेको दलाली र माफिया करण विरुद्ध सङ्घर्षमा उत्रिने प्रतिबद्धता समेत जाहेर गरे ।
भेलाले राईको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । त्यस्तै, सम्मेलनले वैज्ञानिक व्यवस्थामा मात्रै वैज्ञानिक शिक्षा प्राप्त हुने भन्दै त्यसको लागि समाजवादी क्रान्तिमा लामबद्ध हुने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू