अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

पोखरामा रोपाँइ महोत्सव

बिआरटीनेपाल २०७९ असार १५ गते ७:३८ मा प्रकाशित

पोखरामा १७ औँ असारे रोपाइँ महोत्सव सम्पन्न भएको छ । विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई लक्षित गरेर आज बुधवार पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ १७ औँ असारे रोपाइँ महोत्सव भएको हो । पोखराको माईस्थानमा १० रोपनी खेतमा भएको महोत्सव किसानसहित पर्यटन व्यवसायीले उत्साहित भएर मनाएका थिए ।

महोत्सवमा विभिन्न किसिमका प्रतियोगितासमेत आयोजना गरिएको थियो । महोत्सवमा विदेशी पर्यटकले पनि नेपाली पर्यटकसँगै रमाइलो गर्दै हिलो छ्यापाछ्याप गरेका थिए । खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै किसानलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्नु तथा परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ २०६१ सालदेखि परिषद्ले असारे रोपाइँ महोत्सवको आयोजना सुरु भएको थियो ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवम् रोपाइँ महोत्सवका संयोजक पोमनारायण श्रेष्ठले नेपाल सबै मौसममा भ्रमण गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिन पनि महोत्सव फलदायी भएको बताउनुभयो । महोत्सवमा झन्डै दुई सय विदेशको सहभागिता रहेको उहाँको भनाइ छ ।

स्थानीय किसान विष्णुप्रसाद तिमिल्सिनाले धान रोपाइँ सुरु भए पनि सरकारले किसानलाई समयमै मल, बिउको व्यवस्था गर्न नसकेको गुनासो गर्नुभयो ।महोत्सवमा साउने प्रतियोगिता, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्नेसहित दौड प्रतियोगिता भएका थिए । पछिल्लो समय बढ्दो प्लटिङसँगै कङ्क्रिट सहरका कारण महोत्सव स्थलसमेत पाउन मुस्किल हुन थालेको छ । धेरैजसो मानिस हिलोमा छिरेर टिकटिक बनाउनदेखि सेल्फी खिच्न व्यस्त देखिन्थे । महोत्सवस्थलमा रमाइलो भइरहँदा नजिकैका खेतमा भने किसानले काम गरिरहेका थिए ।

प्रतिक्रिया