अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 01:26

फुर्सद

गोपीराम भण्डारी 'बटुवा' २०७९ असार १२ गते १५:१८ मा प्रकाशित

कविता

मान्छे जन्मियो रुँदै रुँदै
बढ्यो समय सँगै, उमेर सँगै
सम्बन्ध र सङ्गतहरू थपिँदै गए
नातागोताहरू जपिँदै गए
घर, मावली ,ससुराली यस्तै थुप्रै थुप्रै
रुँदा दुख्नेहरूको जमात बढ्यो
खेलाउने र उचाल्नेको बुई चढ्यो
खुसी र दुःखहरू खेलौना सरी
घरी घरी वरिपरि उपहारबनी
क्रमशः थपिँदै गए
उसलाई सम्हाल्ने फुर्सद छैन ।।

होस सम्हाल्दै हिडेकाे मान्छे
ज्ञानका हारहरु थुपार्छ
प्रेम, शक्ति ,सम्पत्ति र सन्तति पनि
जोडिरहन्छ निरन्तर
अब ऊ सम्पन्न बन्छ
जितहरू चुम्दै जान्छ
दुनियाँ घुम्दै जान्छ
बामे सरेको मान्छे अब देश बामे सार्छ
हिजोको धार ,आजको छेकबार बन्छ
नाम,पद,शरीर हैसियत सबै बदलिनछन्
व्यस्त जिन्दगीको बदलाव हेर्ने
उसलाई कत्ति फुर्सद छैन ।।

समयले ताते गर्दाका हात लैजान्छ
रुँदा मुसार्नेको साथ टुटाउँछ
उसका वरिपरि थुप्रै हुन्छन्
समस्याका खानी ,किन्तु समस्याको चाबी ऊ
सकेको गर्जो फुकाउँदै जान्छ
आफ्ना रहर लुकाउँदै जान्छ
धेरैका समस्या हल गर्दा
जिन्दगीको महल अपुरो हुन्छ ।
समेट्न खोज्दा जगत
पुर्पुरो छाम्दै दाैिडरहन्छ
तर पनि उसलाई फर्केर हेर्ने फुर्सदै छैन ।।

समयले पद लान्छ, पथ हट्छ
धेरै कुरा सर्दै जान्छन्
शरीरमा मुजा पर्दै जान्छन्
दृष्टिहरू छोटिन्छन्
हड्डीहरू घोटिन्छन्
हातहरुकाम्न थाल्छन्
आफ्नाहरूले डाम्न थाल्छन्
जुटेको मइन पग्लिएर
सम्बन्ध र नाताहरू तप्प तप्प खस्न थाल्छन्
आशा र भरोसाहरू क्रमशः सम्झनामा सीमित हुन्छन्
तर पनि उसलाई सम्झने फुर्सदै हुन्न ।।

समयले जोडिदा प्रफुल्लित मन
आर्जित धन ,सुम्पने मन
छुट्दा दुःखी रहे पनि
जन्मेको थाङ्नो फर्काउँदा उस्तै उस्तै देख्छ
झस्कन्छ ऊ जीवन ढल्केको देखेर
अब त ऊ फेरी एक्लै रुन्छ
विरासतको सम्पन्नताले आँसु पुछ्दैन
सम्बन्ध नियाल्छ तर हरेक आफ्नै दौडमा देख्छ
अब उसले फर्केर हेर्छ ती दिनहरू
सम्झन्छ आफ्नै कहानी
उसको वरिपरि कोही हुँदैनन्
हुन्छ त केवल फुर्सदै फुर्सद
क्रमशः फुर्सद
विचित्रको फुर्सद।।।।