अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 03:14

प्रतिनिधि सभा बैठकमा मन्त्रीको प्रस्ताव पारित भएन

बिआरटीनेपाल २०७९ असार १२ गते ७:४७ मा प्रकाशित

प्रतिनिधि सभा बैठकमा गणपुरक संख्या नपुगेका कारण मन्त्रीले राखेको प्रस्ताव पारित हुन सकेन ।प्रतिनिधि सभामा गणपुरक संख्या नपुगेका कारण कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला)ले राखेको नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन नसकेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रश्तुत गर्न लागेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद झपट रावलले प्रतिनिधि सभा सदस्यको गणपुरक संख्या नपुगेको र यस्तो अवस्थामा प्रस्ताव पारित गर्दा नियमावली विपरित हुने भन्दै निर्णयार्थ पेस गर्नु अघि गणपुरक संख्या गणना गर्न माग गर्नुभएको थियो ।

उहाँले भन्नुभयो – ‘यहाँ कोरम नपुगेका हुनाले यो निर्णयार्थ पेस गरिँदैछ । हाम्रो नियमावली भन्दा विपरित भएको हुनाले निर्णयार्थ पेस हुनुभन्दा पहिले यहाँ गणना गरियोस् भन्ने कुरा म राख्न चाहन्छु ।’ लगत्तै सभामुख सापकोटाले प्रतिनिधि सभा सदस्यहरुको गणपुरक संख्या गणना गर्न संसद सचिवालयलाई निर्देशन दिनुभएको थियो । गणपुरक संख्या गणना हुँदा प्रस्तावलाई निर्णयार्थ पेश गर्न ६९ जना प्रतिनिधि सभा सदस्य हुनुपर्नेमा ६३ जना मात्रै सदस्यहरुको मात्रै उपस्थिति देखिएकाले गणपुरक संख्या अपुग भएको भन्दै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो ।

प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्यहरु पूरा समय नबस्ने गरेको विषयमा विभिन्न समयमा आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू