अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

वर्षा बाधक हुँदा नेपालको एशियाकप यात्रा समाप्त

बिआरटीनेपाल २०७९ असार १० गते ८:२३ मा प्रकाशित

वर्षाका कारण नेपाल र युएईको खेल अवरुद्ध भएपछि युएई समूह विजेताको आधारमा फाइनलमा प्रवेश गर्दा नेपालको एशिया कप खेल्ने लक्ष्य समाप्त भएको छ ।युएईलाई हराउँदै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले वर्षाका कारण जवाफी ब्याटिङ गर्न नपाउँदा युएई समूह चरणको नतिजाको आधारमा फाइनल प्रवेश गरेको हो ।

यस्तै एशियाकप छनोटको नेपालको यात्रा समाप्त भएको हो । समूह बीको उपविजेताको रूपमा समूह ‘ए’ विजेता युएईसँग नेपालले शुक्रबार फाइनल प्रवेशका लागि खेलेका थियो ।मलेसियामा जारी प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले युएईबाट जम्मा ८२ रनको लक्ष्य पाएको थियो । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले युएईलाई १९.५ ओभरमा समेट्दा युएईले नेपाल सामु ८२ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि अस्मिना कर्माचार्यले ५ विकेट लिँदा इन्दु बर्माले ३ तथा सीता रानामगरको नाममा २ विकेट रह्यो ।युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउँदा ओपनर ईशा रोहित १५ रन जोड्न सफल भइन् । यसैगरी कप्तान छाया मुघलले १४ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

८२ रनको जवाफी लक्ष्य पछ्याएर ब्याटिङ गर्न मैदानमा उत्रने तयारीमा नेपाल रहेपनि वर्षाका कारण नेपाललाई त्यो मौका मिलेन । पहिला पनि वर्षाका कारण ३० मिनेट ढिला गरी शुरु भएको खेललाई फेरि वर्षाले प्रभाव पारेपछि युएईलाई भाग्यले साथ दिएको हो । खेल रद्ध भए पनि नेपालका लागि ५ विकेट लिएकी अस्मिना कर्माचार्य प्लेयर अफ दी म्याच बनिन् । यसपछिको अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिष्पर्धा हुनेछ ।

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एशिया कप क्रिकेटमा छनोट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू