अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई स-सम्मान क्याम्पमा बोलाउने एन्फाको निर्णय

बिआरटीनेपाल २०७९ असार ९ गते ८:१४ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।बुधबार बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर रहेका खेलाडीलाई फिर्ता बोलाउने औपचारिक निर्णय गरेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्द सहित १० खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए ।उनले खेलाडीलाई समर्थन गरेको आरोपमा नियमित कप्तान किरण चेम्जोङलाई समेत राष्ट्रिय टिमबाट बाहिर राखेका थिए । प्रशिक्षक खेलाडीको विवादमा सिनियर खेलाडी रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अन्जन विष्टलाई टिमबाट निकालिएको थियो ।

घटनाबारे छानबिन गर्न गठित समितिले प्रशिक्षकले बारम्बार अपशब्द प्रयोग गरेर क्याम्प छाडेर जान भनेपछि खेलाडीले होटल छाडेर गएको प्रतिवेदन दिएको थियो । एन्फा बैठकले छानबिन समितिको प्रतिवेदन अनुसार प्रशिक्षकको विषयमा कतार फुटबल संघसँग छलफल गर्न महासचिवलाई आवश्यक निर्देशन दिएको छ । बैठकले एन्फाको महासचिवमा किरण राई, कोषाध्यक्षमा रबिन्द्र जोशी र अन्तराष्ट्रिय विभाग प्रमुखमा नविन पाडेलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया