अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

मिस नेपाल नम्रता ‘मोडल हन्ट नेपाल’ मा आबद्ध

कुबेर गिरी २०७९ असार ८ गते १३:०६ मा प्रकाशित

काठमाडौँ । पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा आबद्ध भएकी छन् । उनी निर्णायकको रूपमा प्रतियोगितामा आबद्ध भएकी हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगितामा आबद्ध भएको जानकारी दिए । श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुन् ।

प्रतियोगिताको अहिले सातौँ संस्करण सुरु चलिरहेको छ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ । ११ असार अर्थात् २५ जुनबाट सुरु हुने प्रतियोगिताको छनौट चरणको अडिसन ९ जुलाईसम्म चल्नेछ । अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा नगद ५ लाख बराबर उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलावा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।