अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

राष्ट्र बैंकको ४/१२ नीतिका कारण शेयर बजार घटिरहेको छ : अध्यक्ष हमाल

बिआरटीनेपाल २०७९ असार ७ गते ८:०३ मा प्रकाशित

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताउनुभएको छ । आज मङ्गलवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरूले पनि शेयर बजार घट्नुमा राष्ट्र बैंकले लिएको ४/१२ को नीति भएको बताएका जानकारी दिनुभयो । उहाँले पुँजीगत लाभकरसमेत घटाउने विषयमा अर्थ मन्त्रीसँग छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले शेयर बजार घटेर लगानीकर्तालाई अप्ठेरो अवस्था सिर्जना हुनुमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ल्याएको मौद्रिक नीतिमा शेयर धितोकर्जामा ४/१२ को नीतिको कारण हो । विज्ञहरूले पनि त्यही भन्छन् । ४/१२ को नीतिका कारण बजारमा सेलर्स मार्केट क्रेट भयो ।’ अध्यक्ष हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र त्यो समितिले दिएको सुझावअनुसार काम अगाडि बढाइने बताउनुभयो ।

अध्यक्ष हमालले विश्वका अन्य देशमा शेयर लगानीकर्ता आन्दोलन गर्दै सडकमा नआउने भन्दै नेपालमा यस्तो अवस्था आउनु दुःखद भएको बताउनुभयो । उहाँले आउँदो आर्थिक वर्षदेखि कुनै पनि कम्पनी मर्जरमा जाने निर्णय गरेपछि कारोबार रोकिने अवस्था हटाइने बताउनुभयो । अध्यक्ष हमालले लगानीकर्ताको सबै माग पूरा गर्न सम्भव नभएको बताउँदै कतिपय माग बोर्डको अधिकार क्षेत्रबाहिरको भएको उल्लेख गर्नुभयो ।

मौद्रिक नीतिमा शेयर खरिद गर्नका लागि एउटा बैंकबाट चार करोड र समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र कर्जा पाउने व्यवस्था गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू