अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०५ | Colorodo: 22:20

जीवनका विविध आयाम सार्वजनिक

बिआरटीनेपाल २०७९ जेठ २६ गते २०:३१ मा प्रकाशित

काठमाडौँ। शङ्कर लामिछाने प्रतिष्ठान तथा मातृभूमि साहित्य समाज, हेटौडाद्वारा थाहा पुस्तकालय, काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यकार रूकु कार्कीको निबन्धकृति ‘जीवनका विविध आयाम’को लोकार्पण गरियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य वरिष्ठ आख्यानकार माया ठकुरीले लोकार्पण गर्नुभएको थियो।

कार्यक्रममा मातृभूमि साहित्य समाजद्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएको मायादेवी मातृभूमि साहित्य पुरस्कार गङ्गा कर्माचार्य पौडेल, मायादेवी साहित्य सेवा सम्मान सविता श्रेष्ठ बेहोसी र मातृभूमि सामाजिक सेवा सम्मान हाम्रो बाल संरक्षण धरोहर नेपालकी सञ्चालिका विनीता अर्याललाई प्रदान गरिएको थियो। उक्त पुरस्कार तथा सम्मान अन्तर्गत क्रमशः नगद रु २१ हजार, ११ हजार र १० हजार पनि रहेको थियो। ती सबै पुरस्कार र सम्मान लेखिका रुकु कार्कीले स्थापना गर्नुभएको हो।

शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि माया ठकुरीले रुकु कार्कीको लेखन यात्राको आफू पनि साक्षी रहेको बताउँदै नयाँ कृतिका लागि बधाई दिनुभयो।

विशिष्ट अतिथि वरिष्ठ साहित्यकार प्राडा. गोविन्दराज भट्टराईले कार्कीको बन्धनबाट मुक्ति कृतिबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै नयाँ कृति पनि उत्तिकै पठनीय भएको धारणा राख्नुभयो ।

कृतिको समीक्षा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले व्यक्ति, घटना र विषय केन्द्रित निबन्धहरू रहेको लोकार्पित कृतिमा निबन्धकारका विचार र धारणाहरू स्पष्टसँग आएको उल्लेख गर्नुभयो ।

वरिष्ठ समालोचक ज्ञानु अधिकारीले रुकु कार्कीले आफ्ना निबन्धहरूमा आफूलाई इमानदारीका साथ प्रस्तुत गरेको बताउँदै उनका निबन्धहरू “अर्गानिक” भएको बताउनुभयो ।

मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल र संस्थापक अध्यक्ष ह्यग्रीव आचार्यले समाजको स्थापना, विभिन्न पुरस्कारहरू र संस्थाका गतिविधिहरूबारे जानकारी दिँदै समाजलाई अझ अगाडि बढाउन सक्रिय भएर लाग्ने अठोट व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष राधेश्याम लेकालीले आगामी दिनमा सहकार्य अझ बढ्ने विश्वास व्यक्त गर्दै निकट भविष्यमा हेटौँडाका कविहरूको कविता वाचन कार्यक्रम काठमाडौँमा गर्ने विषयमा योजना बनाउँदै गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा लोकार्पित पुस्तकका स्रष्टा रुकु कार्की, थाहा पुस्तकालयका अध्यक्ष अस्मिता सुमार्गी, गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठ र पुरस्कृतहरूका तर्फबाट गङ्गा कर्माचार्य पौडेल तथा कवि यादव भट्टराईले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरू शैलेन्द्र साकार, हिरण्यकुमारी पाठक, गोविन्द गिरी प्रेरणा, पवित्रा अधिकारी, सीता विष्ट कार्की, द्वारिका कुइकेल, दिव्य गिरी, मुरारी सिग्देल, शर्मिला खड्का दाहाल, विमल भौकाजी, शान्ति सापकोटा, हेमन्ती जोशी, मञ्जिला अनिल, गीता अधिकारी, चेतनाथ धमला, उषा केसी, कमला रिसाल, ज्ञान्दरी कैनी, विमला अधिकारी ढकाल, रुद्र पौडेल आदिको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू