अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

नेजाको सामुदायिक अन्तरक्रिया (भिडियो सहित)

बिआरटीनेपाल २०७९ जेठ २३ गते १०:१४ मा प्रकाशित

न्यू योर्क । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले न्यू योर्कको क्वीन्समा सामुदायिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

नेपाल सरकारले अमेरिकामा रहेका नेपालीलाई वाणिज्य दूतावासबाट उपलब्ध गराउने सेवा, सुविधाका विषयमा सर्वसाधारणलाई जानकारी दिलाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र बाणिज्यदूत गणेशप्रसाद अधिकारीले वाणिज्य दूतावासबाट उपलब्ध गराइने सेवा र सुविधाका बारेमा जानकारी दिए ।

कार्यक्रममा न्यू योर्क र आसपासका क्षेत्रमा रहेका कम्तीमा २ दर्जन सङ्घ संस्थाका प्रतिनिधि उपस्थित थिए । उनीहरूले यहीँ जन्मेर वा विभिन्न कारणले नेपाली नागरिक हुन नसकेका नेपालीहरूको नागरिकता प्राप्तिसम्बन्धी प्रश्न गरेका थिए । साथै, कार्यक्रममा जन्म दर्ता, विवाह, पारपाचुके, डलर खाता, लगानी, सम्पत्ति सम्बन्धी अधिकार, एनआरएन कार्ड, मताधिकार, वारिसनामा लगायतका विषयमा प्रश्न उठेको थियो ।

वाणिज्यदूत अधिकारीले भुमार्गबाट अमेरिका प्रवेश गरेका नेपालीहरूका लागि समेत परिचयपत्र र अन्य कानुनी प्रक्रियाका लागि सजिलो होस भनेर वाणिज्य दूतावासले हस्तलिखित राहदानी समेत जारी गर्ने गरेको बताए । ‘अमेरिका वा अन्य देशमा जन्मेर नेपाली हुन नसकेकाहरूको हकमा सम्बन्धित देशमा नागरिकता प्राप्ति प्रक्रिया सुरु नगरेको अवस्था छ भने हामी उहाँहरूलाई नेपाल जाने व्यवस्था गर्छौँ,’ उनले भने, ‘नेपाल पुगेपछि आफ्नो गाउँघर पुगी त्यहाँबाट नागरिकता वा परिचयपत्र लिने प्रक्रिया सुरु गर्न सक्नुहुन्छ ।’

महावाणिज्यदूत गौतमले कोभिडका कारण नेपाली समुदायसँगको सम्बन्ध पातलो बनेको भन्ने टिप्पणी ठिकै भएको बताए । ‘तर, हामीले प्रदान गर्ने सेवा यस अघिको भन्दा धेरै बढी छ,’ उनले भने ।

उनले सबैलाई खुसी बनाउन नसकिने बताए । ‘हाम्रो सेवाबाट सबै सन्तुष्ट हुनुहुन्न र सबैलाई सन्तुष्ट बनाउन पनि सकिँदैन,’ उनले भने, ‘तपाइले कल गर्दा वाणिज्य दूतावासको फोन उठेन होला । आफ्ना प्रश्नको उत्तर पाउनु भएन होला । हामी पनि मानिस हौँ । हाम्रा कर्मचारीलाई पनि खाजा खानुपर्छ, ट्वाइलेट जानुपर्छ । त्यसमाथि कर्मचारी ज्यादै थोरै छ । हाम्रो समस्या पनि बुझिदिनुहोला ।’

नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व उपाध्यक्ष डण्डु ढोक्प्याले अमेरिकामा रहेका नेपालीहरूको जनगणना गर्न र त्यसअनुसार कर्मचारीको दरबन्दी माग्न सुझाए । ‘तपाइँहरु वर्षौंदेखि एउटै समस्या देखाएर पन्छिनुहुन्छ,’ उनले भने, ‘यहाँ रहेका नेपालीको सङ्ख्या गन्नुहोस् र सेवा दिन थप कर्मचारी माग गर्नुहोस् ।’

कार्यक्रमकी सभापति तथा नेजाकी उपाध्यक्ष मच्छे गुरुङले वाणिज्य दूतावासका अधिकारी र नेपाली सङ्घ संस्थाका प्रतिनिधिलाई सूचना आदानप्रदान गर्न आग्रह गरिन् । ‘तपाइहरूले सूचना दिनुभयो भने त्यसलाई हामी समाचारका माध्यमबाट नेपाली समुदायमा पुर्‍याउने कोसिस गर्छौँ,’ उनले भनिन्, ‘त्यसले एक प्रकारको पुलको भूमिका खेल्छ ।’ उनले कसैले समाचार लेखेर पैसा मागेको छ भने नेजामा उजुरी गर्न आग्रह गरिन । ‘नेपालदेखि नै गर्दै आएको भएकाले छोड्न नसकेर हामीले स्वयंसेवाका रूपमा पत्रकारिता गरिरहेका छौँ,’ उनले भनिन्, ‘तर, समाचार लेखेबापत कसैले पैसा माग्छ भने नेजामा उजुरी गर्नुहोस् । हामी कारबाही गर्छौँ ।’

नेजाका क्षेत्रीय संयोजक गोकुल श्रेष्ठले न्यू योर्कबाट प्रकाशित भइरहेको केही नेपाली पत्रिका कोभिडसँगै बन्द भएको गुनासो गरे । उनले पत्रकारिता र नेपाली समुदाय आपसमा जोडिएको पनि बताए ।

प्रत्यक्ष प्रसारणको भिडियो:

प्रतिक्रिया