अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

जरुरी

गोपीराम भण्डारी 'बटुवा' २०७९ जेठ २१ गते १४:१५ मा प्रकाशित

उमेरले डाँडा काटे पनि आफूलाई स्वस्थ्य र व्यस्त राखेका कारण हरिहर सामाजिक कर्ममा अझै पनि सक्रिय छन् । ठम ठम गोडाले हिँडेर सिंहदरबार सचिवालय पुगेका हरिहरको हातमा समाज रूपान्तरण र विकासको खाका कोरिएको पाण्डुलिपि छ । सचिवालयको बन्द कोठामा छलफल चलिरहेको छ । उनी प्रवेश गर्न खोजे तर उनलाई सुरक्षाकर्मी रोक्यो । केरकार र सोधपुछको जवाफमा उनले आफू ज्येष्ठ नागरिक भएको र बैठकमा पुग्नै पर्ने जरुरी रहेको बताए । हरिहरको भनाइ जस्ताको त्यस्तै रिपोट गरेको सुरक्षाकर्मीले बैठक चलिरहेकोले बैठक पश्चात् भेटाइदिनु भन्ने आदेश आएको कुरा उसलाई सुनायो ।

बैठकमा पेस गर्नुपर्ने महत्त्वपूर्ण र जरुरी कुरा छ । म हाम्रा नेतालाई एक मिनेट भेटेर फर्किहाल्छु, बरुसँगै हिँड्नोस् न उसले अनुरोध गर्याे। सुरक्षाकर्मीले नम्र स्वरमा भने आदेश नआई त पठाउन मिल्दैन हजुर । रिसले थरथर काँप्दै हरिहरले भने तिमीहरूको विवेकमा बिर्को लागेको छ ? जरुरीको अर्थ बुझ्दैनौ ? सुरक्षाकर्मी नबोलेरै बाटो छेकिरह्यो । हरिहर अलिकपछि हटेर जन्मेैदेखिको बल लगाएर सुरक्षाको घेरा तोड्दै ठेलेर अगाडि बढे । उनको उन्मन्त ठेलाइले सुरक्षाकर्मी पछारिए उनी भने बैठक चलिरहेको बन्द ढोकामा ठोक्किन पुगे ।

ढोका खुल्यो । हरिहर हातमा योजनाको खाका कोरिएको कागजको मुठो समातेर असिना पसिना भई उभिइरहेका थिए । बैठकमा सहभागी सबैले आश्चर्य भावले नियाले । सहभागीमध्ये एक जना बुज्रुक नेताले उनीतिर हेर्दै बैठक चलिरहेको बेलामा वृद्ध बाजेलाई कसले किन छोडेको हँ ? यो गार्डहरू काम गर्न सक्दैन कि क्या हो ? कता गएको हँ ? नेताको वचनले हरिहरको स्वाभिमानमा ठेस लाग्यो । उसले कड्कँदै भन्यो को वृद्ध ? कस्तो वृद्ध ? कसरी वृद्ध ? ढोका लगाएर राष्ट्रघात गर्ने तिम्रा सोच वृद्ध । जनतालाई फुटाएर, आफूहरूले घाँटी जोडेर लुटतन्त्र मच्चाउने तिम्रो बेकम्मा राजनीति वृद्ध , योग्य र निष्ठावान्, कर्तव्यपरायणलाई वृद्ध भत्ता बाँड्ने लट्ठकहरू आफू कुन नैतिकता र अधिकारले राज्य चलाइ रहन्छौ ? हरिहरको क्रोध नसक्दिकै अर्को बुज्रुकले भन्यो ए ! यसलाई ठोक न भन्या । हरिहर रिसले झनै आागाे हुँदै भन्यो “ऐ किर्नाहरू हो म सँग योजना छ, सोच छ, समाज रूपान्तरणको त्यही दिन आएको थिए । विवेकमा बुजो लगाएर, वुख्याचा बनी हस्ताक्षर गर्ने, निर्लज्जहरू”।

ऊ बोल्दै थियो सुरक्षाकर्मीले बुढोलाई जुरुक्क उचालेर बाहिर निकाले । उसले बच्चाले जस्तै हात खुट्टा फाल्दै भनिरहेका थियो । ए छोड न भन्या जरुरी छ क्या, जरुरी ,अति जरुरी कुरा —तर उसको कुरा कसैले सुनेनन् । उसलाई भ्यानमा कोचेर दौडाए । उसको अलपत्र आवाज भित्तामा ठोक्की रह्यो । कसैको मनमा ठोक्किएन । बैठकको ढोका बन्द भयो । बन्द कोठाबाट आवाजले बाहिर निस्कन जति प्रयास गरे पनि उपहास र अट्टहासले च्यापी रह्यो कुल्चिरह्यो निरन्तर, निरन्तर !!!

प्रतिक्रिया