अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

जांचफिस

रवीन्द्र समीर २०७९ जेठ २० गते १०:१७ मा प्रकाशित

(लघुकथा )
हिउँजस्तै सेतै कपाल भएकी वृद्धा लौरी टेक्दै डा.शर्माको जाँच कक्षमा प्रवेश गरिन् ।
— ‘बस्नुस् आमा !’ डा.शर्माले देखाएको कुर्सीमा उनी बसिन् ।
— ‘आमा, तपाईँलाई के भयो ?’
वृद्धाले अनुहारभरि कोरिएका बुढ्यौलीका मुजाहरू मुसार्दै भनिन— ‘के भएको हो भन्ने थाहा भएको भए यहाँ किन आउँथे म ?’
डा. शर्मा अप्ठ्यारोमा परे । तैपनि बिरामीको रोग र समस्या त बुझ्नै थियो । त्यसैले नम्र भएर सोधे— ‘कहिलेदेखि बिरामी हुनुभयो आमा ?’
उनले भनिन्— ‘कहिले सन्चो थियो र मलाई ?’

डा. शर्माले सोधे— ‘आमा, तपाइलाई ज्वरो आउँछ ?’
उनले अलि झर्केर भनिन्— ‘ज्वरो नाप्ने भाँडो यो अस्पतालमा छैन कि क्या हो ?’
डा.शर्मा एक छिन केही नबोली बसे । उनले पनि डा. शर्माको मौनतालाई साथ दिइन् । उनको सास छिटो छिटो चलेको थियो । उनको जीवनको वायुमण्डलमा हुरी चलेजस्तो लाग्थ्यो । यो देखेर डा. शर्माले जाँच्दै भने— ‘आमा, तपाईँलाई दमको रोग छ । चेस्ट इन्फेक्सन भएको छ ।’
उनी हुरीजस्तो सास फेर्दै आँधीझैँ बोलिन्— ‘नेपाली बोल्न आउन्न क्या हो तपाईँलाई ?’

डा. शर्माले भने— ‘तपार्इंलाई छातीको रोग छ भनेको नि आमा ।’
जाँच्ने काम सकिएपछि डा. शर्माले केके लेखेर उनलाई कागज दिए ।
— ‘अब मलाइ सन्चो भयो ?’ उनले ढुक्कजस्तो भएर सोधिन् ।
डा. शर्माले भने— ‘यहाँ लेखेको औषधि किनेर खानुस् अनि सन्चो हुन्छ ।’
उनले जिज्ञासा थपिन्— ‘यो कागज अब के गर्ने ? जन्तर बाँध्ने ?’

डा. शर्मा फेरि अक्क न बक्क भए । उनले जाँच फिस तिरेको सम्झेर भनिन्— ‘औषधि त अघि मैले बाहिर तिरेको पैसाले देलान् नि हैन ?’
डा. शर्माले स्पष्टीकरण दिए — ‘बाहिर पैसा तिरेको त मसँग जाँच गराउन मात्र हो । औषधि तल फार्मेसीमा गएर किन्नुहोला ।’

उनीभित्रको आधी हुरी झन् चल्न थाल्यो— ‘न तपाइले रगतको जाँच्नु भयो, न एक्स-रे गर्नुभयो, न औषधि दिनुभयो ? यसो छामछुम गरेको मात्र पाँच सय रुपैयाँ खाने ? म गाउँकी बुढीलाई ठग्ने ?’
उनले कागज त्यहीँ छोडेर बाहिर जाँदै फेरि भनिन् — ‘छामछुम गरेर पैसा मिल्ने भए मैले यो उमेरमा किन दाउरा घाँस गर्नुपर्थ्यो ? सहरका ठुला डाक्टरभन्दा गाउँका कम्पाउन्डर नै जाती बरु । औषधिको पैसा लिए पनि बोलेको र छामेको त पैसा लिँदैनन् तिनले ।’
यस्तै ८२ वटा लघुकथा – एकलव्य दृष्टिमा !

Re-POST

प्रतिक्रिया