अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१० | Colorodo: 10:25

सपना र बिपना

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ जेठ १९ गते १५:१४ मा प्रकाशित

रजनी आफ्ना झाँक्राहरू फिँजाएर
जब धरामा ओर्लन्छे
अरुणको अवसानमा
समवेदनास्वरूप
म आफ्ना आँखामा ढकनी लगाउँदै
मौन …मौन
उसको पुनर्जन्मको कामना गर्दै
आफैँलाई बिर्सिएर हराउँछु ।

कर्णविवरहरू बन्द छन्
निशाचरहरूका पदचाप सुन्दिनँ
कालरात्रिका स्तुतिहरू सुन्दिनँ ।

स्पर्शहरू हराउँछन्
बिपनाहरू हराउँछन्
एकान्त गह्वरमा
कुनै आफन्तहरू भेट्दिनँ
नाता कुटुम्ब सबै हराउँछन् ।

सायद अन्तरमा मात्र मुटु चल्छ
त्यसैले समाधि शक्ति सुरक्षित छु
नियति – प्रकृति
प्रहरहरू चिप्लिरहन्छन् !

रक्तिम पूर्वी क्षितिजले
सम्प्रेषित किरणहरूले
मलाई घचघच्याउँछन्
परेलाहरू खुल्दा सामुमा
रजनी भेटिन्न
लालिमाले थकित अङ्ग-अङ्गमा
पीयूष छर्कन्छे
शीतका थोपाहरू हराउँछन्
पसिनाका थोपाहरू रसाउँछन् ।

कामना – वरदान भएर ब्युँझिइन्छन्
श्रम शिविरमा पाइलाहरू उक्लिइन्छन्
हत्केलाहरू फैलिइन्छन्
आँखामा बिपनाहरू बोकेर
म ताराका सपनासित
खेल्दै रमाउँछु !!

—————-
गोरखा, लप्सी बोट; हाल : काठमाडौँ -६, सरस्वतीनगर ।