अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

रश्मिको युगका आवाजहरू लोकार्पण

बिआरटीनेपाल २०७९ जेठ १० गते २१:०५ मा प्रकाशित

मे १४ शनिवार अनेसास नेपाली साहित्य समाज न्यु योर्क च्याप्टरले साहित्यकार रश्मि भट्टको दोस्रो कृति “युगका आवाजहरू “को लोकार्पण र समीक्षात्मक कार्य सम्पन्न गरेको छ ।भर्चुअल माध्यमबाट गरिएको उक्त कार्यक्रममा च्याप्टरकै अध्यक्ष कवि राजन महर्जन सभापति, बोर्ड अफ ट्रस्टकी अध्यक्ष साहित्यकार गीता खत्री प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशेष अतिथिहरू वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी “किशोर” र साहित्यकार कलानिधि दाहाल रहनु भएको थियो ।

च्याप्टरका अध्यक्ष राजन महर्जनले कार्यक्रमको सुरुवात गर्नुभएको थियो भने च्याप्टरकै महासचिव जानुका बस्ती ढकालले आफ्नो स्वागत मन्तव्यबाट पाहुनाहरूको स्वागत गर्दै “युगका आवाजहरू” का स्रष्टा रश्मि भट्टलाई बधाई र शुभकामना पनि व्यक्त गर्नुभएको थियो । छन्दमा होस् या गद्यमा या त समालोचनामा नै दखल भएकी स्रष्टाको आफ्ना रचनाहरू धेरै पहिलेदेखि पत्रपत्रिकामा प्रकाशित हुँदै आएको र संयुक्त रूपमा पुस्तक पनि प्रकाशित गरेकी थिइन् ।गत वर्ष “पातालका गर्तमा “ प्रकाशन गरेकी थिइन् भने फेरी यति छिट्टै “युगका आवाजहरू “ दोस्रो कृति लिएर आउन सफल भएकी हुन् ।

यसै क्रममा साहित्यकार कलानिधि दाहालले गोर्खाली चेलीको उपलब्धि धेरै छ साँच्चै साहित्यको अन्तर मर्म छामेर हेर्ने हरूका लागि यो कृति छ किनकि यसमा शिल्प राम्रोसँग ल्याइएको छ । सम्पूर्ण बिम्बहरूमा मानवीय चेत उठाउन सक्नु सर्जकको सबैभन्दा ठुलो उपलब्धि हो भन्दै स्रष्टालाई बधाई र शुभकामना दिनुभएको थियो । त्यस्तै वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी “किशोर” ले कविताको महत्त्व दिनानुदिन बढ्दै गइरहेको छ ।

कुनै पनि स्रष्टाले कृति तयार गर्दा अरूभन्दा फरक छ छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ र जुन कुनै विधामा लेखे पनि काव्यात्मकता हुनु ठुलो कुरा हो ।विभिन्न देशका दार्शनिकहरू जस्तो प्लेटो , अक्टोभिया , क्रिस्टोफर र टल्सटायहरुले कविहरूलाई राम्रो नदेखे पनि जति विरोध गरे पनि समग्रमा भन्नुपर्दा कविताको महत्त्व झनै बढिरहेको छ ।कवि रश्मि भट्टको कविताहरू सरल , निर्दोष र खरो छन् उनको धेरै कविताहरू सूत्रात्मक र मन्त्रात्मक लाग्छन् । सम चेतनाका बिम्बहरूलाई एउटै मालामा राखिएको छ भने नारी अस्मिताको कुरालाई सबल रूपमा राखिएको छ । बहिनीको कृति धेरै राम्रो र महत्त्वपूर्ण छ भन्दै स्रष्टा रश्मि भट्टलाई धेरै धेरै बधाई र शुभकामना दिनुभएको थियो ।

त्यसै गरी डा. ऋषि बस्ताकोटी, डा. वीरेन्द्र पुडासैनी, गीतकार धन लामा, साहित्यकारहरू डा.गोविन्द कोइराला, विश्वराज अधिकारी, सुरेश कुमार भट्ट, लालगोपाल सुबेदी, ने मु प्र अमेरिका शाखा अध्यक्ष तथा गजलकार आनन्द श्रेष्ठ, उत्तर अमेरिका क्षेत्रका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसास केन्द्रका कोषाध्यक्ष तथा कवि विकाश विष्ट, टुटुल्को डट.कमका प्रधान सम्पादक ज्योतिकुमार श्रेष्ठ, बोर्ड अफ ट्रस्टकी अध्यक्ष तथा साहित्यकार गीता खत्री, अनेसास न्यु योर्क च्याप्टरका पूर्व अध्यक्ष शकुन ज्ञवाली, च्याप्टर उपाध्यक्ष कवि लक्ष्मी श्रेष्ठ, बन्दना कोइराला, समाजसेवीहरू राजन गौली र विश्वराज बास्तोलाले आ-आफ्नो मन्तव्यका साथ स्रष्टा भट्टलाई बधाई र शुभकामना दिनु भएको थियो । समाजसेवी नवराज के.सी, साहित्यकार गीता पराजुली पन्थ, प्रोफेसर राजन थपलिया, अनेसास न्यु योर्क च्याप्टर कोषाध्यक्ष नदिया लिवाङ्ग र मुक्तक मणि तीर्थराज अधिकारीको पनि उपस्थिति रहेको थियो ।

साहित्यकार किशनसिंह धामी उपस्थित हुन नसके पनि कृतिकारलाई बधाई र शुभकामना सन्देश पठाउनु भएको थियो । ”युगका आवाजहरू” का स्रष्टा रश्मि भट्टका समकालीन साथी साहित्यकार लालगोपालले उहाको कवितामा गोर्खा, काठमाडौँ र अमेरिका सबै भेटिन्छ । उहाँ साधना गर्नुहुन्छ प्रचार प्रसारलाई ध्यान दिनु हुन्न भन्दै स्रष्टाको बारेमा निकै चर्चा गर्दै बधाई र शुभकामना दिनु भएको थियो । स्रष्टाको अर्का सहपाठी मित्र डा. वीरेन्द्र पुडासैनीले नव उदयीमानले निर्मल आकाश पाएर स्रष्टाका रूपमा विशिष्ट चिनारी दिन सक्नु हाम्रो लागी गौरवको कुरा हो यो अमर कृति सबैको सिरानीमा बस्ने खालको छ साहित्य बाटिकामा कोसेढुंङ्गो साबित होस् उहाँको उत्तरवर्ती सिर्जनाहरू अझै चम्किँदै जावस् भन्दै धेरै धेरै बधाई र शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा स्रष्टाले आफ्नो मन्तव्यका साथ सबैलाई धन्यवाद दिएपछि सभापति राजन महर्जनले कार्यक्रम सकिएको जानकारी गराउनु भएको थियो ।

समाचार स्रोत: अनेसास न्युयोर्क च्याप्टर महासचिव जानुका ढकाल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू