अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

२४० माइल साइकल यात्राबाट ६ हजार पाउन्ड सङ्कलन

बिआरटीनेपाल २०७९ जेठ १० गते १४:३८ मा प्रकाशित

काठमाडौँ । अभिनेता,निर्माता विक्रम डी जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गरेका छन् । लामो समयदेखि बेलायत बस्दै आएका जोशीले हेल्प नेपाल नेटवर्कले धुलिखेलमा सञ्चालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना साथीहरूका साथमा गत शुक्रवार बिहान लन्डन ब्रिजबाट ‘लन्डन टु पेरिस च्यारिटी राइड’ सुरु गरेका थिए । उनीहरूले आइतबार यात्रा पूरा गरेका हुन् ।

साइकल यात्रा टिममा जोशीसहित सुलभ पन्त,सुशील प्रसाईं,मनोज श्रेष्ठ,प्रसिद्ध प्रधान,सुनिल कार्की र लक्ष्मण गुरुङ छन् । यात्रा सुरु गरेको दिन (२० मे) मा बाटोमा भारी वर्षाको सामना गर्नु परेको अभिनेता जोशीले बताए । ‘पहिलो दिन बाटोमा वर्षा तथा हावाहुरीले निकै अबरोध गर्‍यो,’ उनले भने,‘तर पनि त्यो दिन करिब ८ घण्टा साइकिलिङ गर्‍यौँ ।’ दोस्रो दिन भने निरन्तर १० घण्टा साइकल चलाएको उनले सुनाए । तेस्रो दिन अर्थात् २२ मेमा भने उनलाई केही समय साइकलले धोका दिएछ । ‘मेरो साइकल बिग्रीयो तर पनि प्रसिद्ध प्रधानजीले ठिक गर्नु भयो । हामी निर्धारित समयमै यात्रा पूरा गर्न सफल भयौ ।’ पेरिसबाट उनले भने ।

पाइडल घुमाउँदै लन्डन ब्रिजबाट पेरिसको ई फेल टावर पुगेको सो टोलीले लक्षित भन्दा धेरै सहयोग रकम जुटाएको छ । ‘हामीले कम्तीमा ५ हजार पाउन्ड सङ्कलन गर्ने टार्गेट गरेका थियौँ । तर हामीलाई ६ हजार पाउन्ड सहयोग जुटेको छ,’ जोशीले भने, ‘हाम्रो यात्राको उद्धेश्य थाह पाएपछि मान्छेहरू स्वस्र्फुत रूपमा सहयोग गर्न तयार भए । हामीलाई त्यसअबधिमा ११० जनाले रकम सहयोग गरेका छन् ।’

उलवीच अर्सेनल राइडर्स क्लब (डब्लुएआरसी) र नेपाल यूथ एसोसिएसन युकेले आयोजना गरेको साइकल यात्रा अभियान सुरु भएदेखि विभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउन्ड सहयोग गरिसकेका थिए भने अहिले त्यसमा ६ हजार पाउन्ड थपिएको छ । जस्ट गिभिङ डट कम नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको यात्राको सम्पूर्ण खर्च यात्री स्वयम्ले बेहोरेका थिए । आफूहरूले सङ्कलन गरेको रकम छिट्टै नै चिल्ड्रेन्स् होमलाई हस्तान्तरण गरिने जानकारी उनले दिएका छन् । सन् २०१४ देखि सञ्चालित उक्त अनाथालयमा हाल २३ बालिका आश्रित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू