अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

नेपालमा मन्कीपक्स संक्रमणको उच्च खतरा, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:२६ मा प्रकाशित

मन्कीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकाले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई साता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताउनुभयो।

सहप्रवक्ता अधिकारीले मन्कीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताउनुभयो । उहाँले । विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताउनुभयो । उहाँले यो संक्रमण अधिकांश बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गर्नुभयो । मन्कीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको पनि बताउनु भयो ।

उहाँले मन्कीपक्सका कारण शरीरमा देखिएका लक्षण करिव तीन महिनापछि आफै हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताउनुभयो । मन्कीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको पनि बताउनुभयो । उहाँले मन्कीपक्सको भ्याक्सिन उत्पादन भएर प्रयोगमा आइसकेको पनि बताउनुभयो ।

मन्कीपग्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जंगलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा हुनसक्ने भाइरस हो । प्रायः मुसा प्रजातीका जनावरहरुमा यसको भाइरस रहन्छ । ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, र्याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो संक्रमण हुनसक्छ ।

यो संक्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्यून रहेको हालसम्मको अध्ययनले देखाएको छ । यो समाचार तयार पार्दासम्म विश्वका ७ देशमा ३० जना भन्दा धेरै मानिसहरुमा मन्कीपक्सको संक्रमण पुष्टि भएको छ । पछिल्लो समय यसको संक्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै संक्रमण भइ सरेको हुनसक्ने अनुमान छ । यसका अधिकांश लक्षण स्मल पंक्स भाइरससँग मिलेको विज्ञहरुको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू