अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 09:54

बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

बिआरटीनेपाल २०७९ जेठ ८ गते ९:२१ मा प्रकाशित

संसदीय सुनुवाइ समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । सिंहदरवारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदुत घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम अनुमोदन गरेको हो ।समिति बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रवृत्तिमा अध्ययनरत नेपाली विद्याथीको संख्या बढाउने र त्यहाँ रहेका नेपालीको समस्या समाधानमा केन्द्रित हुने बताउनुभयो ।

त्यस्तै, म्यानमारका लागि प्रस्तावित राजदूत हरिश्चन्द्र घिमिरेले नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र अन्य सरोकारवाला निकायसँग समन्वय गरी लुम्बिनी जाऔँ, भिजिट लुम्बिनी अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले म्यान्मारस्थित नेपाली दूतावासमा पर्यटन सम्पर्क व्यक्ति तोकी नेपालको पर्यटन सम्बन्धी सूचना, जानकारी शीघ्र र निरन्तर प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै ओमानका लागि प्रस्तावित राजदूत डोरनाथ अर्यालले नेपाल र ओमान सरकारबीच भएका सम्झौता कार्यान्वयन गर्न विशेष पहल गर्ने बताउनुभयो । उहाँले थाती रहेका श्रम, सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौता अघि बढाउन र द्विपक्षीय सम्झौता कार्यान्वयन गर्न पहल गर्ने बताउनुभयो । नेपालको हाइड्रोपावरको क्षेत्रमा ओमानले लगानी गर्न चाहेकोले लगानी भित्र्याउन जोड दिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू