अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

स्थानिय तह निर्वाचन अन्तरगत महानगरपालिकाहरुको मतगणना जारी

बिआरटीनेपाल २०७९ जेठ ८ गते ९:१६ मा प्रकाशित

गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन अन्तरगत महानगरपालिकाहरुको मतगणना जारी रहेको छ । जारी मतगणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । जसअनुसार काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १७ हजारभन्दा बढी मतको अग्रता लिनुभएको छ । शाहले ४१ हजार २७९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २३ हजार ८५५ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाउनु भएको छ ।

उता, चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रता कायमै राख्नु भएको छ । उहाँले ३८ हजार ७०८ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले ३० हजार १९२ मत पाउनुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ६४८ मत प्राप्त गर्नुभएको छ ।

यता, ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ३० हजार ८६० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार २०१ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखका एमालेकी मञ्जली शाक्यले १७ हजार ७१६ मत प्राप्त गर्दा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १२ हजार ६६६ मत पाउनुभएको छ ।

पोखरा महानगरपालिकामा गठबन्धन तर्फका नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ४३ हजार २१५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने एमालेका कृष्णबहादुर थापा ३९ हजार ७९८ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

यस्तै, वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंहले ३३ हजार ३१५ मत प्राप्त गर्दा एमाले उम्मेदवार विजयकुमार सरावगीको १७ हजार ४२० मत पाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू