अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

अल्मुताइरीलाई हटाउन छानविन समितिको सिफारिस

बिआरटीनेपाल २०७९ जेठ ७ गते ५:०५ मा प्रकाशित

फुटबल खेलाडी र प्रशिक्षकको विवाद छानविन गर्न गठित समितिले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले अल्मुताइरी स्वास्थ्यका हिसाबले नेपाली टोली सम्हाल्न असक्षम रहेको औंल्याएको हो । प्रतिवेदनमा उल्लेख भएअनुसार बयानका क्रममा पनि अल्मुताइरीले आफू अस्वस्थ रहेको बताएका थिए ।

समितिले एएफसी कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको छ । अखिल नेपाल फुटबल संघद्धारा गठित तीन सदस्यीय समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टिमका वर्तमान मुख्य प्रशिक्षक अलमुताईरीलाई परिवर्तन गर्न सिफारिस गरेको हो ।कतार फुटबल संघको प्राविधिक सहयोगमा नेपाल आएका अल्मुताइरी गैरव्यावसायिक भएको र खेलाडीको निजी जीवनमा समेत हस्तक्षेप गर्न खोजेको औंल्याइएको छ ।

यस्तै एएफसी कप छनोटका लागि बन्द प्रशिक्षणबाट निस्किएका १० जना खेलाडीलाई माफी मगाएर मात्र राष्ट्रिय टोलीमा स्थान दिन पनि सुझाव दिइएको छ । केही साताअघि प्रशिक्षक अल्मुताइरीसँगको विवादपछि रोहित चन्दले बन्द शिविर छाडेका थिए ।त्यसको दुई दिनपछि अन्य ९ जना खेलाडीले पनि बन्द शिविर छाडेका थिए । अल्मुताइरीले नै आफूहरूलाई बन्द शिविर छाड्न निर्देशन दिएपछि निस्किएको खेलाडीहरुको दाबी छ । बन्द शिविर छाडेका खेलाडीहरूलाई बाहिर राखेर एएफसी कप खेल्ने टोलीको घोषणा भइसकेको छ ।

खेलाडी प्रशिक्षक विवादको छानविन गर्न एन्फाको कार्यसमिति बैठकले भुतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सम्मिलित समिति गठन गरेको थियो । छानविन समितिले घटनाको मुख्य दोषी व्यवस्थापक पनि रहेको ठहर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू