अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१९ | Colorodo: 09:34

त्रिकोणीय परिवेशभित्र रोटीको दन्त्यकथा

युवराज मैनाली २०७९ जेठ ६ गते १३:२२ मा प्रकाशित

नेपाली साहित्यका विविध विधामध्ये कविता जेठो र महत्त्वपूर्ण विधा हो । कवितालाई विभिन्न विद्वान्हरूले विविध तरिकाले परिभाषा गरेको पाइन्छ । कविता शब्द तत्सम शब्द हो । कवि शब्दमा ता प्रत्यय लागेर बनेको कवितालाई कविद्वारा सिर्जित रचना मानिन्छ । कविको रचना–कर्म वा कृति तथा सिर्जनालाई कविता शब्दले बहन गरेको छ । संस्कृतमा काव्य शब्दको अर्थ नेपालीमा कविता शब्दको अर्थ समान रहेको पाइन्छ । चौधौँ शताब्दीमा विश्वनाथले काव्य शब्दको अर्थ कविता भनेको पाइन्छ । काव्यका अथवा कविताका विविध रूप रहेका छन् । सूक्ष्म रूप मुक्तक, फुटकर कविता, खण्डकाव्य, महाकाव्य र बृहत् महाकाव्य गरी कविताका पाँच रूपमा वर्गीकरण गरी अध्ययन गरेको पाइन्छ ।

विशेष गरी भाव, आख्यान र लयको उचित समायोजन गरेर मनोरम लालित्यपूर्ण ढङ्गले प्रस्तुतिलाई कवितामा समाविष्ट गरिएको हुन्छ । साहित्यमा कलात्मकता हुन्छ । त्यसैले साहित्यलाई कला पनि भनिन्छ । ललितकलाको एउटा भेदअन्तर्गत पर्ने साहित्य संरचनामा कवितालाई समावेश गरिएको छ । कवितालाई पूर्व र पश्चिम दुबैतर्फ परिभाषा गरिएका छन् । ‘शब्द र अर्थले युक्त पदावली काव्य हो’ भनी भामहले भनेका छन् । ‘रसयुक्त वाक्य नै काव्य भनी विश्वनाथले बताएका छन् । त्यसै गरी पश्चिममा एरिष्टोटलले ‘कविता भाषाका माध्यमबाट अभिव्यक्त हुने अनुकरणात्मक कला हो ’ भनेका छन् । ‘कविता कोमल वनिता रसयसत रसिकं रसेन सम्मिलिता’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले परिभाषा गरेका छन् । बालकृष्ण समले भावनाको बौद्धिक कोमलतालाई कविता मानेका छन् भने कविशिरोमणि लेखनाथ पौडेलले विचारशाली मीठा कुरालाई कविता भनेका छन् ।

कवितामा प्राप्त तत्त्वहरूलाई हेर्ने हो भने शीर्षक संरचना, विषयवस्तु, भाव विधान, लय विधान, कथन पद्धति, अलङ्कार, विम्ब, प्रतीक, भाषा शैली र उद्देश्य रहेको पाइन्छ ।

कविताको लघुतम रूप मुक्तक हो भने लघु रूप अन्तर्गत फुटकर कविता पर्दछ । यसभित्र पनि छोटा र लामा आकारका पनि पाइन्छन् । वर्तमान व्यस्त समयमा मानिसलाई लामा–लामा उपन्यास, कथा, काव्य, खण्डकाव्य, महाकाव्य पढ्ने फुर्सद हुँदैन । छोटो समयमा शिक्षा, ज्ञान र मनोरञ्जनसमेत गर्नुपर्ने आजको आधुनिक व्यस्त मान्छेले आफूलाई प्राप्त समयअनुसारका सिर्जनाबाट सन्तुष्टि लिने गरेका छन् । साहित्यका विभिन्न विधामा आएका परिवर्तन र सूक्ष्म स्वरूपजस्तै कवितामा पनि परिवर्तन आउनु स्वाभाविकै हो ।

मुक्तकभन्दा अलि ठुलो तर आफैमा पूर्ण लघु रूपमा सिर्जित फुटकर कविताको बाढी नै आएको पाइन्छ । प्रविधिमा अभ्यस्त मान्छेलाई किताब पढ्ने समय छैन । त्यही समयको मागलाई सम्बोधन गर्न विभिन्न कविहरूले कविताका सूक्ष्म रूपलाई भित्र्याएका हुन् । हाइकु, तान्काजस्ता कविताका छोटा रूपसमेतले स्थान जमाइरहेको वर्तमान परिप्रेक्ष्यमा भाषिक लालित्यमा आह्लादकारी सिर्जना लघु कविताहरूको सङ्ग्रह रोटीको दन्त्यकथा शीर्षकमा लालगोपाल सुवेदीले प्रस्तुत गरेका छन् ।

विमल भौकाजीको सम्पादन रहेको प्रस्तुत सङ्ग्रहमा महेश पौड्यालको भूमिका रहेको छ । रत्न पुस्तक भण्डारले २०७६ मा कविको ५०औँ जन्मदिनको अवसर पारेर प्रकाशित गरेको कृतिमा ५० वटै कविता राखी वर्षको एउटा हुने गरी समायोजन मिलाइएको छ । थोरै शब्दमा धेरै भन्न सक्नु कविताको शक्ति हो । त्यो शक्ति समेट्न प्रयास गरेका कविले केही कुरा दिने जमर्को गर्नु आफैमा चुनौती भएको कुरा उल्लेख गरेका छन् ।

लालगोपाल सुवेदी प्रवासमा रहेका बहुमुखी प्रतिभा सम्पन्न व्यक्ति हुन् । नेपाली साहित्यमा छन्द, स्वच्छन्द दुवैमा उनको कलम दह्रो किसिमले चलेको देखिन्छ । बाल कविता, बाल गीत, बाल निबन्ध, गीत, गजल, समालोचना र सम्पादनमा समेत उनको योगदान रहेको छ । विविध विधामा कलम चलाएका मूलतः उनी कवि हुन् । गद्यमा लेखिएको ‘पानी, योगमाया र इन्द्रेणी’ उनको दह्रो कविता मात्र होइन नेपाली साहित्यमा पनि उपलब्धिकै रूपमा लिनुपर्छ ।

छोटा–छरिता, मीठा कविताले आजको बजार पाउने कुरामा विश्वास राख्ने कवि लालगोपालले सोहीअनुसारकै ५० कविताको बिटोलाई रोटीको दन्त्यकथामा समावेश गरेका छन् । कविता आकारमा भन्दा पनि शक्तिगत घनत्वलाई महत्वका साथ हेरिन्छ । कविता कविताका लागि नभएर समाजका लागि लेखिनुपर्छ । लालगोपाल नेपाली कवितामा विशेष गरी छन्दमा कविता लेख्ने कवि अहिले उनी गद्यमा पनि नयाँ–नयाँ प्रयोग गरिरहेका छन् । रोटीको दन्त्यकथामा उनले नवीन शैली प्रयोग गरेको देखिन्छ । विभिन्न क्षेत्रमा आफ्नो कलम सशक्त बनाएका कविले पूर्व र पश्चिमका मिथकीय सन्दर्भ, दार्शनिक दृष्टि र समाजका व्यक्तिहरूको अवस्था र मनोदशालाई कविताको विषय बनाएका छन् । जीवन र जगत्को शल्यक्रिया गर्ने क्रममा नेपालदेखि बाहिरको भूगोल अमेरिकासमेतको रहनसहन, बाध्यता, अवस्थालगायतका कुराको सूक्ष्माति सूक्ष्म अवलोकन गरी कवितामा उतारेका छन् ।

मानवीय सम्बन्ध, संस्कार, प्रकृति, प्रवृत्ति, कला, जीवन, मनजस्ता कुरालाई सूक्ष्म रूपले छामेका छन् । नेपाली भाषा, धर्म, संस्कृतिमाथि देखिएका विकृति, विद्वान् साहित्यकारमा देखिएका विकृति, विसङ्गति आदिलाई विम्ब, भाव, भाषा, प्रतीक आदिको उचित समायोजन गरेर आफ्नो कलात्मक क्षमता प्रस्तुत गरेका छन् ।

कवितामा काव्यको अवस्था हेर्ने हो भने समालोचकीय छाप प्रस्टिएको छ । समाज हेर्ने दृष्टिकोण, भोगाइ र अन्तर भावको स्पन्दनलाई शब्द गुच्छाले प्रस्तुत गरेका कविताहरूको मौलिकताले समेटेका छन् ।

अनगिन्ती इच्छा, चाहना र सपनाका पछि–पछि दौडदादौडदै मानिस घोडा भइसकेको मान्छेको खोलमा मानिस नरहेको तथ्य बताई आफुसमेत गधा भइसकेको कुरा कविले स्वीकारेका छन् । स्वदेशको जवानी विदेशमा पसिना बगाउँदा खोला बनेको र झोल बनेर माटोमा फर्किएको कुरालाई कविले केलाएका छन् । देशभित्रका विकृति–विसङ्गतिप्रति झटारो हान्दै कविले स्वदेशमा रहेका भ्रष्टाचार, दुराचार, अत्याचार, महँगी, नातावाद, कृपावाद, फरियावाद र लँगौटीवादले समाजलाई आक्रान्त बनाएको, बेरोजगारी र राजनैतिक दुष्चक्रमा फसेको प्रणालीले युवा शक्ति पलायन भएको अवस्थालाई समेत कविले उल्लेख गरेका छन् ।

लालगोपालका कवितालाई कवितामा प्राप्त परिवेश तत्वका आधारमा मूलतः तीन प्रकारमा विभाजन गर्न सकिन्छ । प्रथम खण्डमा स्वदेशी परिवेशमा लिखित कविता, द्वितीय खण्डमा विदेशी परिवेशमा लिखित कविता र तृतीय खण्डमा नवीन परिवेशमा लिखित कविता ।

लालगोपालका कविता नियाल्ने हो भने देशमा व्याप्त विकृति र यथार्थतालाई विषय बनाई व्यङ्ग्य गरिएका कविता रहेका छन् । स्वदेशी परिवेशमा लिखित व्यङ्ग्य प्रधान कविताहरूमा ‘अभिशप्त भूमि’, ‘भ्रष्टाचार वा श्रष्टावतार’, ‘खबरदारी’, ‘धमिलो दृश्य’, ‘मोह’, ‘मूल्यहीन रगत’, ‘नयाँ गाउँ’, ‘कविताको बाढी’, ‘सहयात्री’, ‘आयु’, ‘पाखण्ड’, ‘सभ्यता’, ‘साक्षी’, ‘अप्रणाली’, ‘विद्रोह’, ‘भ्रष्टाचार–२’, ‘भाग्य’, ‘व्यापार’, ‘छुट्टीका दिन’, ‘पपदशैँ’ गरी २१ वटा कविताले राष्ट्रिय स्तरका विकृतिलाई चिरफार गरेका छन् ।

आर्थिक अभावमा गाउँलाई युवाहीन क्षेत्र बनाइएको कर्तुत ‘अभिशप्त भूमि’मा व्याख्या गरिएको छ । ‘भ्रष्टाचार–१’मा टेबुलमुनिबाट पैसा नपाउँदासम्म काम नहुने कर्मचारीतन्त्रका कर्तुतलाई उदाङ्गो पारिएको छ । ‘श्रष्टावतार’ कवितामा राजनीतिको खोल ओढेका साहित्यकारप्रति व्यङ्ग्य गर्दै कविले आगामी चुनावमा पिँडुलामा तेल घसेर आएपछि मान सम्मान र साहित्यकारको पदवी पाइने कुरा बताएका छन् । झुटा आश्वासन दिने र अरूको भावनामाथि खेलबाड गर्ने स्वार्थीलाई अन्ततोगत्वा आफूमाथि आइलाग्ने कुरा ‘खबरदारी’ शीर्षकको कवितामा बताएका छन् । वनजङ्गल फाँडेर बस्ती बसाउने, गिट्टी–बालुवा निकालेर पानी सुकाउने जीवनलाई वन बनाउने प्रवृत्तिलाई ‘धमिलो दृश्य’ कवितामा हजुरआमा र नातिको संवादबाट प्रष्ट्याएका कविले तस्करी प्रवृत्तिलाई व्यङ्ग्य गरेका छन् । ‘मोक्ष’ कवितामा धार्मिक मिथकमाथिको आक्रमण र आस्थामाथिको खेलबाड देखाएका कविले ‘कविताको बाढी’ शीर्षकमा प्रतीक, विम्ब, मिथक, रूपक, लघु, गुरु, यति, गतिमा आएको विचलन र प्रयोगका नाममा भएका आक्रमणलाई देखाएका छन् । मूल्यहीन रगतमा जनता मार्ने प्रवृत्ति, तस्करी गर्ने सरकारी प्रवृत्ति उतारेका छन् । ‘सहयात्री’मा मित्रताको कर्तुत, ‘आयु’ कवितामा अहिलेका जीवभन्दा पहिलेका निर्जीवमा सत्यता शक्ति रहेको तथ्य भानु जयन्तीका फोटा र सालिकको प्रसङ्ग दिएर बताएका छन् । ‘पाखण्ड’ शीर्षकमा कृत्रिम सभ्यतामा आधुनिकताको नाममा भित्रिएका र विकृति र नक्कलीपनको चित्र उतारिएको छ । ‘साक्षी’ कवितामा असहयोगी प्राणी मानिसमा मानवता क्षीण भएको तथ्य र ‘अप्रणाली’मा विदेशीको इशारामा देशलाई चलाउने अप्राकृतिक राजनीतिप्रति व्यङ्ग्य गर्दै पुच्छरले हात्ती हल्लाएको कुरा बताएका छन् ।

‘भ्रष्टाचार–२’मा सिंहदरबारमा सिंह र बाघदरबारमा बाघले साग अर्थात् टेबुलमुनि घुस खाएर ठुस नहुँदै काम नगर्ने गरेको र ‘भाग्य’ शीर्षकमा”बर्मा गए कर्म सँगै नेपाल गए कपाल सँगै ‘ भन्ने नेपाली उखानलाई विषय बनाएका छन् । त्यसै गरी ‘पपदशैँ’ शीर्षकमा दसैँको मौलिकता हराई पपदशैँ भएको तथ्य बताएका छन् । ‘व्यापार’ शीर्षकमा कविले स्वदेशी कलकारखाना कमिसनको लोभमा बन्द गराउने राष्ट्रका उच्च भनाउँदाहरूले उछितो काढेका छन् । त्यसै गरी साहित्यका नाममा गरिएका व्यापारसमेतको नग्न चित्र देखाउँदै कविता कारखाना, गजल कारखाना, मुक्तक कारखाना खुलेको उल्लेख गरेका छन् । ‘छुट्टीको दिन’ शीर्षकमा एउटा नेपाली भविष्यको सुन्दर सपना बोकेर विदेश अर्थात् अमेरिका जाँदा गधा बनेको तथ्य देखाई आफैलाई व्यङ्ग्य गरेका छन् ।

दोस्रो खण्डका विदेशी परिवेशलाई विषय बनाएर लेखिएका कविताहरू ‘सुखनगर’, ‘चस्माको पावर’, ‘बाँच्ने लय’, ‘प्रेमबजार’, ‘नयाँ शताब्दी’, ‘नयाँ मान्छे’, ‘पहलमानको प्रेमकथा’ आदि करिब ७ वटा कविता वैदेशिक रोजगारी अथवा विविध कारणले विभिन्न देशमा गएका नेपालीहरूले देखेका–भोगेका अनुभूतिलाई कविताको विषयवस्तु बनाएका छन् । ‘सुखनगर’ कवितामा विभिन्न वाद, धारा र दार्शनिकका विचार फलाक्दाफलाक्दै यथार्थ बिर्सिएका नेपालीलाई आफ्नो वास्तविक फोटो हेर्न आह्वान गर्दै फुलसित मुस्कुराएको फोटो खिचेर डर, त्रासमा जीवन बिताउनेहरूलाई आफ्नै चौरास्तामा आउन आग्रह गरेका छन् ।

‘चस्माको पावर’ शीर्षकमा विदेशी चस्माले यो देशलाई नहेरी मौलिकता बुझ्न आह्वान गरेका छन् । दुनियाँलाई यस्तो–उस्तो भनी व्यङ्ग्य गर्ने व्यङ्ग्यकार चित्रकारहरूले आफैलाई नियाल्न नसकेको तथ्य औँल्याइदिएका छन् । कार्टुनमा रमाउनेहरूले आफै कार्टुन बनाएका छन् । बाँच्ने लय, कवितामा प्रेम र जिन्दगी दुई किनारा बनेको तथ्य बताई अमेरिकामा पैसा कमाउँदाकमाउँदै प्रेम पनि हिसाबमा नाफा–घाटाको हिस्सेदार बनेको तर्क गर्दछन् । ‘नयाँ शताब्दी’ कवितामा विज्ञानका नाममा नत्थी लगाएरै भए पनि पृथ्वीजस्तै पृथ्वी बन्ने बताउनेहरूले नयाँ पृथ्वीको खोजी गरिरहेको सत्यलाई उतारेका छन् भने ‘नयाँ मान्छे’ शीर्षकको कवितामा सभ्यताको खिल्ली उडाएर आफ्नो पहिरन, भेसभुसा बिर्सिएका नयाँ मान्छेले भाषा नक्कल गर्दै स्वसंस्कृति बिर्सिएका छन् भनी व्यङ्ग्य गरेका छन् । ‘पहलमानको प्रेमकथा’ शीर्षकमा यौनलाई माध्यम बनाएर पहलमान अर्थात् पुरुषलाई लुट्ने नारीहरूको प्रेमिल चरित्रको चित्र उतारेका छन् । प्रेमका नाममा नाङ्गिएर अरूलाई आर्थिक रूपमा नङ्ग्याउने संस्कृतिको चित्र उतारेका कविले विदेशी भूमिमा नेपाली युवाहरू फसेको कुरा देखाएका छन् ।

यसरी, कविले वैदेशिक भूमिलाई परिवेश बनाएर पनि नेपाली भावना, भोगाइ, संस्कृति, आकृति र विकृतिको तस्बिर उतार्न सफल भएका छन् । तेस्रो प्रकारका परिवेशमा संरचित कविताहरूले समाजको यथार्थ तस्बिर प्रस्तुत गरेका छन् । विविध शीर्षकमा रहेका निम्न कविताहरूले प्रयोगशीलता र यथार्थताजस्ता विशेषता अङ्गीकार गरेका छन् । ‘भ्रम’, ‘अप्राप्य’, ‘आ मरी खा’, ‘आवश्यकता’, ‘ए मान्छे’, ‘भ्यागुतो र कमल’, ‘क्रम समय’, ‘रोटीको दन्त्यकथा’, ‘लाटोकोसेरोको सपना’, ‘चस्माको पावर’, ‘अनुभवी’, ‘क्षयीकरण’, ‘पुरस्कार’, ‘जीवन’, ‘अधोगति’, ‘अखबार’, ‘अर्थहीनता’, ‘प्रिय सम्झनाहरू’, ‘अवसरवादी’, ‘कृषिप्रधान देश’ र ‘आमा’ कविताहरूले समाजको यथार्थ तस्बिर प्रस्तुत गरेका छन् । कतै मिथक, विम्ब, प्रतीक, भाषिक सङ्क्षिप्ता, सङ्केत प्रयोग गरेर कवितालाई रोचक बनाएका छन् ।

‘भ्रम’ शीर्षकको कवितामा दोहोरो चरित्रकी युवतीको प्रेम प्रसङ्ग देखाई सिन्दूर मात्र बाँकी छ, अरू केही बाँकी नरहेको माया अचेल शिरीषको फुल भएको कुरा व्यक्त गर्छन् । जीवन यन्त्र बनाएको अमेरिकामा आ मरी खा भनेको तथ्य बडो यथार्थवादी ढङ्गले चित्रण भएको छ । ‘आवश्यकता’ शीर्षकमा राष्ट्रिय आवश्यकता एउटा असल, कुशल नेतृत्व वा प्रशासक भएको कुरा देखाएका छन् । ‘ए मान्छे’ शीर्षकमा मानवताहीन मानवको तस्बिर ऐनामा देखिएको छ । त्यसैले आत्मदर्शनको आवश्यकता औँल्याइएको छ । भ्यागुतो र कमललाई प्रतीक बनाएर समयसँगै जीवन नासवान भएको कुरा व्यक्त भएको छ । ‘क्रम’ शीर्षकमा प्रकृति र पृथ्वीको तालमेललाई चित्रण गरिएको छ । ‘समय’ शीर्षकमा जीवन समयको उपज हो, यसलाई समयसँगै ढल्दै जाने तथ्य प्रस्तुति देखिन्छ । ‘लाटोकोसेरोको सपना’ शीर्षकमा हामी सबै किंवदन्तीका हिस्सा हुन्छौँ र भन्ने–सुन्ने दुवैलाई समयले कथा बनाउँछ भन्नु नै सन्देश रहेको छ । ‘रोटीको दन्त्यकथा’मा हजुरामाको चातुर्य देखाई बालापनको स्मरण प्रस्तुत गरिएको छ । ‘चस्माको पावर’मा अचेलका युवाहरूले चस्माको पावर घटेर होला स्वदेशका हिमाल देखेनन् विदेशी महल देखे भन्ने कुरा व्यङ्ग्यात्मक तवरले प्रस्तुत भएको छ । ‘अनुभवी’मा चौरासी जुनीको कथा बिम्बात्मक प्रतीकको प्रयोगले प्रयोगशीलता प्रस्तुत गर्दै व्यङ्ग्य गरिएको छ । ‘क्षयीकरण’मा बालापन क्षय भएको स्मरण प्रस्तुत देखाइएको छ । ‘पुरस्कार’मा राष्ट्रिय प्रतिभा खेलाडीहरूको तक्मा बाकसमा भएको तर उसको सीप र शिल्प राज्यले चिन्न र प्रयोग गर्न नसकेको तर्क पेस गरेका छन् ।

‘जीवन’ शीर्षकमा कविले जीवनलाई भुवासँग तुलना गरेका छन् । त्यसो त कविहरूले धूवाँसँग होस् वा भुवासँग, फुल होस् वा भूल; सबैसँग तुलना गर्ने गर्दछन् । ‘अधोगति’ शीर्षकमा हरुवा वा डरछेरुवा राजाले घाँस खाँदा देशमा तमासा तन्त्र आएको भाव व्यक्त छ । ‘अखबार’मा सत्य समाचार नआएकामा कवि दुःखी छन् । ‘अर्थहीनता’मा एउटा अपाङ्गको जीवनदृष्टि प्रस्तुत छ । ‘प्रिय सम्झनाहरू’मा स्वैरकल्पना, बालापना आदिको परिकल्पना गरिएको छ । ‘अवसरवादी’मा राजनीतिमा छेपाराले रङ फेरेको जस्तै हुने प्रवृतिको नग्न चित्र छ । ‘कृषिप्रधान देश’ शीर्षकमा कृषिप्रधान नाम मात्रको भएको कृषि–कर्ममा औजार खिया लागेको, खाद्यान्न आयात गर्नुपरेको परनिर्भरताको असली मुहार कवितामा देखिन्छ । ‘आमा’ शीर्षकमा कविले नेपाललाई जन्मभूमि र समान भएको कुरा देखाउँदै ममता, माता स्वर्गादपि गरियसी भनेका छन् ।
यसरी, लालगोपालका कविता सङ्ग्रहमा छोटा, सटिक, मार्मिक कवितालाई आधार मानेर स्वदेशगत, विदेशगत र विविध सन्देशगत गरी तीन खण्डमा अध्ययन गर्दा व्यङ्ग्यात्मकता, यथार्थ र सङ्क्षिप्तता विशेषताका रूपमा पाइन्छ ।

लालगोपाल सुवेदीकृत रोटीको दन्त्यकथा लघुकवितासङ्ग्रह हो । कवितालाई छोटो, मीठो, रसयुक्त, सशक्त हुनुपर्ने मान्यता राख्ने सुवेदीले भनाइअनुसारकै सशक्त छोटा अङ्गुरका स्वादका कविता सङ्गृहीत छन् । उनका कवितामा समाजको सशक्त पक्षको उद्घाटन गरिएको छ । ललित पदावलीमा भावको झोँक्काले पाठकका शरीरमा काँढा उमार्न सफल उनका कविता रसिला मात्र होइन करेन्ट दिने खालका छन् । कवितामा देशको अवस्था झल्किन्छ । व्याप्त बेथिति, विकृति, विसङ्गति, भ्रष्टाचार, दुराचार, अत्याचार, नीति निर्माताहरूको अकर्मण्यता, बेरोजगारी, व्यभिचारी आदिका कारण सिर्जित समस्याको उजागर गरिएका कविताले व्यङ्ग्यमार्फत सुव्यवस्था, सुशासन, अनुशासन, मर्यादा, संस्कार, संस्कृति र प्रेमको पवित्रतालाई स्थापित गरिनुपर्ने मान्यता राख्छन् । प्रेमलाई व्यापार गराई शरीर भोगको साधन बनाइएकोमा चिन्तित सुवेदी प्रेमलाई साधन बनाइएकोमा असन्तुष्टि व्यक्त गर्छन् ।

प्रवासी जीवनको पीडा, अमेरिका हेर्दा अमेरिका हो तर बुझ्दा आ मरी खा हो, अर्थात् खानका लागि पनि मरिमेट्नु पर्ने गधाजस्तै जोतिनुपर्ने देश हो तथापि सपनाको देश ठानी नेपाली भूमिप्रतिको उदासीनतालाई व्यङ्ग्य गरेका छन् । कविले आफ्नो मौलिक भाषा–संस्कृतिमा आएको विचलनप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

नेपाली वीर पुर्खाप्रति सम्मान गर्दै शहीदको रगतले अक्षुण्ण नेपाली भूमिमा अहिले शहीदहरूप्रति गरिएको अवमूल्यनले कवि सुवेदीको मन कुँडिएको छ । साहित्य, शिक्षा र संस्कारमा समेत बेथिति आएको र राजनीतिको खोल ओढेर साहित्यकार बन्ने प्रवृत्तिप्रति पनि कवि चिन्तित छन् । अव्यवस्था र प्रणालीहीन शासनले जनतालाई शान्ति सुरक्षा र शिक्षा प्रदान गर्न नसकेकोले विद्रोह गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
समाजका हरेक क्षेत्र चाहे विभूषण–पदकमा भएको कृपावाद होस् वा सञ्चारक्षेत्रमा देखिएको पीत पत्रकारिता होस् अनेक बेथितिले कविको मन पिरोलेको छ । दसैँ–तिहारजस्ता चाडपर्वमा मौलिकता हराएर विचलनको रूपमा पपदशैँले स्थान लिँदै आएको तथ्यका कारण मौलिकतालाई इतिहास स्वरूप गुगलमा खोज्नुपर्ने स्थिति कविले देखेका छन् । देश कृषिप्रधान भए पनि यहाँ विज्ञापन प्रधान भएको गालीगलौज र असान्दर्भिक विषयले चासो पाएको कुरामा कवि चिन्तित छन् ।

सम्बन्धहरूमा देखिने अप्रत्याशितता, प्रेमी–प्रेमिका परिवारजन र साथीहरूबिचका सम्बन्धमा देखिएका कृत्रिमता, क्षणिकता, स्वार्थीपन आदिलाई उतारिएको छ । ऐनाको अगाडि उभिएर सिउँदोमा सिन्दूर हाल्ने तर सतीत्व र पतित्व बजारमा हजारमा उतारिएकोप्रति कविले व्यङ्ग्य गरेका छन् । विश्व भूमण्डलीकरणमा भावना हराइसकेको र वस्तुको आवश्यकता बढिरहेकोप्रति कविले प्रेमका ग्राहक अल्छी र विक्रेताहरू छली भएको बताएका छन् । धन्धाभन्दा छल गर्ने महिलाको लुटाहा प्रवृत्ति, सर्वस्व बजारमा लुटाएर रित्तो बनी भित्तो समाउने पुरुषदेखि वैदेशिक रोजगारीमा तड्पिएकाहरूको कथालाई कवितामा अभिव्यक्त गरिएको छ ।

पानी र जवानी सधैँ सङ्लो नहुने र धमिलो पनि व्यक्ति–विशेषमा देखिने कुरा बताएका छन् । कविका ५० वटा कवितामा समाजको विकृत यथार्थ रूप देखिन्छ । वर्तमान परिप्रेक्ष्यमा मुसा प्रवृत्तिका मानिसलाई सियो बनी मनहरू सिलाउनुपर्ने लक्ष्य प्रवाह गर्ने सुवेदीले सूक्ष्म कवितामार्पmत बृहत् सन्देश प्रवाह गरेका छन् । यथार्थता र व्यङ्ग्यात्मकता र काव्यात्मकता उनका कवितामा पाइने मूलभूत तत्त्व हुन् । उनका कविताले विविध परिवेश समेटेका छन् । कथावस्तु र कथानकको सिर्जना आकस्मिक उठान र मन विरेचनका तत्त्व समाहित समय सापेक्ष उत्कृष्ट कविता सिर्जना गरेका छन् ।

यसरी समाजका विविध क्षेत्र र विषयलाई कवितामा कसिलो र चोटिलो प्रहार गरी कविले कवितामा प्रयोगशीलता प्रस्तुत गरेका छन् । कविता कतै–कतै छोटोपनका बहानामा एउटा मुक्तकलाई नियम भङ्ग गरी पूर्णता दिएको पाइन्छ । कतै एक–दुई शब्द थपथाप पारेर एउटा मुक्तकलाई कविता बनाएको पनि प्रतीत हुन्छ । जस्तै– ‘अखबार’ कविता संरचना हेर्दा–
भोक मेटाउने चक्की
बजारमा पाइन्न
जाबो सागको मुठो
हजारमा पाइन्न
त्यसमा हुन्न गाली
त्यसमा हुन्छ भजन
हे बरै
एउटा पनि सत्य कुरा
अचेल अखबारमा पाइन्न
यसलाई मुक्तक बनाउँदा ः
भोक मेटाउने चक्की बजारमा पाइन्न
जाबो सागको मुठो हजारमा पाइन्न
त्यसमा हुन्छ गाली त्यसमा हुन्छ भजन
एउटा पनि सत्य कुरा अहिले अखबारमा पाइन्न ।
प्रस्तुत कवितामा हे बरै थपेर मुक्तकलाई कविता बनाइएको छ ।

यति हुँदाहुँदै पनि कवितामा प्राप्त झट्का, तरङ्ग, भाव आदि कविताकै लघु रूप मुक्तकसँग मेल खानुलाई अतिशयोक्ति मानिँदैन । समग्रमा, कविका कविता व्यङ्ग्य प्रधान र यथार्थको जलपले ओतप्रोत भएर व्यस्त मानिसलाई छोटो समयमा काव्यात्मक रसपान गराउन सफल रहेका छन् । प्रस्तुत कृतिले कविको उचाइसमेत बढाएको छ भन्न कुनै हिचकिचाहट मान्नु पर्दैन ।
०००