अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

टिप्पणीकारहरू !

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ जेठ ६ गते १२:३९ मा प्रकाशित

यी टिप्पणीकारहरूले
आफ्ना कति र कस्ता
घरहरू बनाएका छन् – कुन्नि ?
यिनीहरू अहिले
मेरो घरको भित्रबाहिर
सबैतिर नियाल्दै
कोही- गाह्रो र छानो
नमिलेको कुरा गर्छन्
कोही- झ्याल र ढोका
नमिलेको कुरा गर्छन्
कोही- कोठाको उचाइ
लम्बाइ र चौडाइ
नमिलेको कुरा गर्छन्
कोही- भ~याङको
फैलाइ र उचाइ
नमिलेको कुरा गर्छन्
कोही-बरन्डा र बार
नमिलेको कुरा गर्छन् !

टिप्पणीकारहरू –
आइरहन्छन् र बोलिरहन्छन्
कोही-घरको रङ्ग
नमिलेको कुरा गर्छन्
कोही- सिसा र पर्दा
नमिलेको कुरा गर्छन्
कोही- चुकुल र सुकुल
नमिलेको कुरा गर्छन्
कोही- दराज, खाट
सिरक र सिरानी
नमिलेको कुरा गर्छन् !

आउन र बोल्न
रोकिँदैनन् टिप्पणीकारहरू –
कोही- बत्ती,धारो र ट्याङ्की
नमिलेको कुरा गर्छन्
कोही- भान्छाको सजावट
र, शौचालयको बनावट
नमिलेको कुरा गर्छन्
कोही- जग्गा र घरको नक्सा
नमिलेको कुरा गर्छन्
कोही – घरको वास्तु
नमिलेको कुरा गर्छन् !

अँ साँच्चै !
यी सबैले भनेका
सबै कुराहरू मिलेका घरहरू पनि
कतै बनेका होलान् वा नहोलान् ?
यिनैले पनि
यी सबै कुरा मिलेका
घरहरू बनाएका होलान् वा नहोलान् ?

तर अचम्म !
यी सबै टिप्पणीकारहरू-
पसलै पसलको उधाराले तातिरहेको
मेरो दिमागको सन्तुलन नमिलेको
यथार्थ कुराचाहिँ गर्दै गर्दैनन् !!

———————-
गोरखा, लप्सीबोट; हाल: काठमाडौँ- ६, सरस्वतीनगर ।