अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

बजेटका प्राथमकिता संसदमा पेश

बिआरटीनेपाल २०७९ जेठ ३ गते ७:५४ मा प्रकाशित

 सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गर्नुभएकोे हो । उहाँले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने बताउनुभयो ।

अर्थमन्त्री शर्माले बजेट आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने उल्लेख गर्नुभयो ।उहाँले विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिइने उल्लेख गर्नुभयो ।मन्त्री शर्माले आन्तरिक उत्पादन घट्दै गएको र आयात अत्याधिक बढ्दै गएकाले वर्तमान अर्थतन्त्रमा चुनौति रहेको दोहोर्‍याउनुभयो ।

उहाँले आगामी आर्थिक वर्षको बजेट उत्पादन बढाई आयात घटाउनमा केन्द्रित हुने दाबी गर्नुभयो । आगामी आर्थिक वर्षको बजेट समाजवाद उन्मुख र आर्थिक रुपान्तरणका लागि हुने पनि अर्थमन्त्री शर्माको भनाइ छ ।उहाँले बजेटको सिद्धान्तमा स्थानीय पूर्वाधार निर्माणका लागि अधिक बजेट विनियोजन गर्ने बताउनुभयो । मन्त्री शर्माले कुल राजस्वमा आन्तरिक राजस्वको हिस्सा बढाउँदै लैजाने उल्लेख गर्नुभयो ।

कृषि र उद्योग प्रवर्द्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले बजेटमा सम्बोधन गर्ने उहाँले बताउनुभयो । त्यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी बजेट आउने मन्त्री शर्माले बताउनुभयो । उहाँले अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाइने बताउनुभयो ।

मुलुकमा भ्रष्टाचार घटाउँदै सरकारप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने पनि उहाँले उल्लेख गर्नुभयो । बाह्य पर्यटक आकर्षित गर्न अभियान चलाइने गरी, होटल पर्यटन व्यवसायको पुनरुत्थानको कार्यक्रम समेत बजेटमा आउने बताउनुभयो । यस्तै अर्थमन्त्री शर्माले सामाजिक सुरक्षा कार्यक्रमलाई दीगो बनाउने घोषणा समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू