अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

नेपाल आउँदा आध्यात्मिक भ्रमणको अनुभव हुन्छ : भारतीय प्रधानमन्त्री मोदी

बिआरटीनेपाल २०७९ जेठ २ गते ६:५६ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको साझा प्रेम नै यहाँको पुँजी भएको बताउनुभएको छ । २५ सय ६६ औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो पुँजी जति समृद्ध हुन्छ त्यति भगवान गौतम बुद्धको सन्देश फैलाउन सकिने उहाँले बताउनुभयो । मायादेवी मन्दिरको दर्शन अविश्मरणीय रहेको र यो पवित्र ठाउँ जहाँ भगवान बुद्धले जन्म लिए यहाँको उर्जा र चेतनाको अनुभूति फरक पाएको प्रधानमन्त्री मोदीको भनाई छ । उहाँले नेपाल रामविना पनि अधुरो हुने बताउँदै भारतमा बन्दै गरेको राम मन्दिरका कारण नेपाली हर्षित भएको विश्वास व्यक्त गर्नुभयो ।

नेपाल आउँदा राजनीतिकभन्दा पनि आध्यत्मिक भ्रमणको अनुभूति हुने बताउँदै उहाँले नेपाल विश्वकै सबैभन्दा उच्च पर्वत सगरमाथा मात्रैको देश नभई, पवित्र तिर्थ, प्राचिन सभ्यता, मठमन्दिर सम्हालेर राख्ने देश भएको बताउनुभयो । नेपालमा जन्मेकी सीता र भगवान गौतमबुद्धको भारतसँग प्रत्यक्ष सम्बन्ध रहेको उहाँले बताउनुभयो । भगवान बुद्ध लुम्बिनीमा सिद्धार्थको रुपमा जन्मेर बुद्ध जयन्तीको दिन भारतको बोधगयामा ज्ञान प्राप्त गरेकोले नेपाल भारत दुवै ठाउँमा सम्बन्ध बनाएको उहाँले बताउनुभयो ।यसैबीच, नेपाल र भारतबीच ६ वटा समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणमा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा सम्बन्धित देशका अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सोमबार बुद्धिस्ट अध्ययनको लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने समझदारीपत्रमा लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी र इण्डियन काउन्सिल अफ कल्चरल रिलेसनबीच हस्ताक्षर भएको छ । यस्तै, भारतीय अध्ययनको लागि आईसीसीआर चेयरको स्थापनासम्बन्धी समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालय र आईसीसीआरबीच हस्ताक्षर भएको छ । भारतमा अध्ययनको लागि आईसीसीआर चेयरको स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा काठमाडौं विश्वविद्यालय र आईसीसीआरबीच हस्ताक्षर भएको छ । काठमाडौं विश्वविद्यालय र इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रासबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार नै काठमाडौं विश्वविद्यालय र इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) भारतबीच स्नातकोत्तर तहमा संयुक्त कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी लेटर अफ एग्रिमेन्ट भएको छ । यसैगरी अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि भारतको विद्युत उत्पादक सतलज र नेपाल विद्युत प्राधिकरणबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू