अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

निर्वाचन आयोगद्वारा पूर्वप्रधानमन्त्री भट्टराईसँग २४ घण्टे स्पष्टीकरण माग

बिआरटीनेपाल २०७९ वैशाख ३० गते ७:२६ मा प्रकाशित

निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण माग गरेकाे छ । मतदान गर्ने क्रममा मत संकेत समेत देखाएर खिचेको तस्वीर सार्वजनिक गरेको विषयलाई लिएर कारबाही किन गर्नु नपर्ने हो भनेर आयोगले स्पष्टीकरण माग गरेकाे हाे ।

‘यहाँलाई मतदान गर्ने क्रममा मत संकेत गर्ने ठाउँमा कोही अर्को व्यक्तिलाई साथ लैजानु हुँदैन भन्ने जानकारी थियो, थिएन ? यहाँ देशको पूर्वप्रधानमन्त्री र जिम्मेवार दलको नेताले मत संकेत गर्ने गोप्य कक्षमा के कसरी कुनै अर्को फोटो खिच्ने व्यक्ति साथ लानुभएको थियो ? यहाँले मोबाइल वा क्यामेरा के कसरी गोप्य कक्षमा लानुभयो ? आयोगले भट्टराईलाई सोधेको छ ।

आयोगले साेधेकाे स्पष्टीकरणमा ‘मत संकेत गर्ने गोप्य कक्षमा फोटो खिच्ने कुनै सामग्री लान नहुने र मत संकेत गरेको मतपत्रको फोटो खिच्न नहुने कानुनी व्यवस्थाको अवज्ञा गर्दै के कति कारणले निसिद्ध स्थानमा लान नमिल्ने सामग्रीमार्फत फोटो लिन लगाई सो फोटो सार्वजनिक गर्नु भएको हो ?’ भन्ने प्रश्न गरिएकाे छ ।

जसपाका संघीय परिषद् अध्यक्षसमेत रहनुभएका भट्टराईलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ७ को उपदफा २ बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनेर आयोगले प्रश्न गरेको छ ।

पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफ पेस गर्न आयोगले समय सीमा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू