अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

स्थानीय तह निर्वाचन : ३५ हजार २२१ पदको लागि १ लाख ४५ हजार उम्मेदवार

बिआरटीनेपाल २०७९ वैशाख २९ गते १९:१२ मा प्रकाशित

निर्वाचन आयोगले शुक्रबार(आज) बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको थियो । सरकारले गत माघ २४ गते देशका ७५३ वटै स्थानीय तहमा एकै चरणमा २०७९ बैशाख ३० गते निर्वाचन गर्ने घोषणा गरेको थियो । सोही बमोजिम शुक्रवार स्थानीय तहको निर्वाचन सम्पन्न भएको हो । सम्पन्न निर्वाचनको मतगणना कतिपय स्थानमा शुरु भैसकेको छ भने अधिकांंश स्थानमा शनिबार बिहानै देखि शुरु हुने बताइएको छ ।

२०७४ को स्थानीय तह निर्वाचन बैशाख ३१,असार १४ र असोज २ गते गरेर तीन चरणमा भएको थियो । तर यसपटक भने एकै चरणमा निर्वाचन सम्पन्न भयो । केही स्थानीय तहमा उम्मेदवारको मृत्यु भएपछि भने आयोगले ती स्थानीय तहको निर्वाचन कार्यक्रम संशोधन गरेको थियो । प्रजातन्त्रको जगको रुपमा रहेको स्थानीय तह निर्वाचन मार्फत जनताले आफ्ना प्रतिनिधि चुन्ने यो अत्यन्तै महत्वपूर्ण अवसरले प्रजातन्त्रको जग थप बलियो बन्ने छ ।

 निर्वाचन आयोगका अनुसार २९ बैशाख २०७९ सम्म १८ वर्ष पूरा भएका मतदाताको संख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ रहेको छ । जसमा महिला ८७ लाख ४१ हजार ५ सय ३० जना,पुरुष ८९ लाख ९२ हजार १० जना र अन्य १ सय ८३ जना रहेका छन् ।

यसपटक ७ सय ५३ स्थानीय तहमा १ लाख ४५ हजार ११ जना उम्मेदवारले बिभिन्न पदमा प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गरेका आयोगले जनाएको छ । जसबाट ३५ हजार २२१ जना स्थानीय जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू