अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

जिम्बावे ‘ए’माथि नेपालकाे शानदार जित, आशिफ एक्लैले बनाए ८७ रन

बिआरटीनेपाल २०७९ वैशाख २१ गते ७:०७ मा प्रकाशित

जिम्बावे ‘ए’विरुद्धको टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भएको हो । जिम्बावले दिएको १ सय ३७ रनको विजयीलक्ष्य १५.५ ओभरमा पूरा गर्दै नेपालले सिरिजमा पहिलो जित निकालेको हो ।

नेपालका लागि आशिफ शेखले अविजित ८७ रन बनाए । ५४ बलको सामना गरेका उनले १३ चौका र १ छक्का हिर्काए । दीपेन्द्रसिंह ऐरीले एक बल खेल्नै अविजित रहे । कुशल भुर्तेल ३४ रनमा आउट हुँदा बसिर अहमदले १० रन बनाए ।त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

उसका लागि रोय काइयाले ४९, टाडिवानाशे मरुमानीले २७ र इन्नोसेन्ट काइयाले १४ रन बनाएर आउट हुँदा लुक जोङ्वे २३ रनमा नटआउट रहे । त्यसबाहेकका खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।नेपालका कप्तान सन्दीप लामिछानेले दुई तथा बसिर अहमद र सोमपाल कामीले एक–एक विकेट लिए ।

सिरिजको पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण अवरुद्ध भएको थियो । तीन खेलको टी–ट्वान्टी सिरिज एक–एकको बराबरी भएको छ । टी–ट्वान्टी सिरिज सकिएसँगै नेपालले सोही टीमसँग तीन खेलको एक दिवसीय सिरिज खेल्नेछ । सिरिजका खेलहरू शुक्रबार, शनिबार र सोमबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू