अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

नीति

गोपीराम भण्डारी 'बटुवा' २०७९ वैशाख १४ गते १८:४७ मा प्रकाशित

हाम्रो महान् समूहको महान् एजेन्डा र नीति हेर्नुहोस् । हामीले अबको पाँच वर्षमा यो देशको मुहार फेर्ने छौ । हामीलाई जिताउनुहोस् । बिच सडकलाई मञ्च बनाएर भाषण गरिरहेको युवा गर्जियो । राताम्मे झन्डा बोकेकाहरूले ताली पड्काए । भाषण गरिरहेको युवाले यो देशलाई हामी …… भन्दै थियो । एउटा कार्यकर्ताले कालो झन्डा देखायो । झुन्डका आँखा झन्डाले तान्यो । मञ्चको युवाले माइकमा भन्यो “कागको बथानमा बकुल्ला ,नाच नाच म मादल ठोकुँला, के हो यो ?लामो श्वास तानेर,प्रतिक्रियावादीहरूको घुसपैठ त होइन” ?

उसले कार्यकर्तालाई प्रश्न गर्‍यो । होइन, होइन ,यो पनि हाम्रै कार्यकर्ता हो । चिनेकाहरूले उत्तर दिए । झन्डा वोेडेर ऊ मञ्च तिर गयो । ड्यासमा बस्नेहरूले यसलाई के पुगेन खै भन्दै खासखुस खुसखुस गरे । मञ्चबाट उसले चिच्याउँदै भन्यो “हामी सबै भेडा रहेछौ । यो व्यवस्थाको नाम मात्र फेरिएको छ तर अवस्था जिउँका तिउँ छ । हरेक पटक उस्तै उस्तै र उनैले रूप र हुप बदलेर सत्ताको भत्ता बुझेर राष्ट्रियता कलकत्ता बुझाउने । हामी ताली बजाइ रहने । नीति, सिद्धान्त, आदर्श, पद्धतिका कुरा भुलाउनलाई गरिँदो रहेछ । सत्ता, पद र शक्तिकालागि राज्य दोहनको चाबी लिन जोडिएको गर्धनले देशको जिम्मा लिन सक्दैन । विचार र सिद्धान्त आदर्शलाई लत्यार गरिएको गठबन्धन र तालमेल जनतामाथिको जालझेल हो । दुई विपरीत ध्रुव जोडिएको यो अनौठो तालमेलको निर्लज्जनीतिले हामी भेडालाई हरियो घाँस हालेर चुप्पी उधाइ रहेको छ । पर्दा पछाडि तरमार्न बोकालाई बहर बनाएर जोतिँदै छ । हामी कतिन्जेल भेडा बन्ने हो “। उसले प्रश्न गर्‍यो ।

हामीलाई भेडा भन्ने भन्दै एउटा विद्वानले इटाले उसको टाउकोमा झटारो हान्यो । उ आइया बा भन्दै भुँइमा लड्यो । मञ्चमा भएका सबैले ल खा भन्दै एक एक लात बजाउँदै गए । ऊ बोल्न छोड्यो । सबै आआफ्नो बाटो लागे । एउटो मुढो बनेर बाटो मै लडिरह्यो ऊ र उसको नीति । प्रहरीको भ्यान आयो । उसलाई अस्पतालमा पुर्‍यायो । अस्पतालको आइ.सी.यु.मा ऊ घिटीघिटी गरिरहेको थियो। उसलाई ढुङ्गा र इटा लागे पनि घाउ निरीह देशलाई दुखेको थियो । नीति र थितिले थिलथिलो परेको देश आफ्नो मुहार फेरिने पिडा र भयले अन्धकारमा रोइरहेको थियो । न जुन थियो । न जुनकिरी, निष्पट कालो, अन्धकारमा ।

प्रतिक्रिया