अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

मञ्जरी !

युवराज मैनाली २०७९ वैशाख १४ गते १८:४२ मा प्रकाशित

कुदिरहेकी मञ्जरीलाई रमेशमानले सोध्यो–‘होइन केको तयारी नानु !’

‘जागिरको तयारी हो दाजु ! भरोसा त दाजुकै हो नि, हाम्रो आफ्नो ठुलोबडो भन्नु नै हजुर त हो क्यारे ! पुलिसमा भर्ना खुलेको छ , भनसुन गरिदिनोस् नि !’ मञ्जरीले आशा व्यक्त गरिन् ।

तिमीहरूकै मतले नेता बनेका हाकिमलाई भनिदिउँला नि, रमेशमानले सान्त्वना दियो । मनमा राष्ट्र सेवाको भूत सवार मञ्जरीले सबै शारीरिक परीक्षण पास गरिन् । लेखपढ गर्न सक्षम भएकी मञ्जरीले लिखित परीक्षासमेत पास गरेर घर फर्केकी छिन् ।

एकाबिहानै रमेशमानले मञ्जरीलाई आफूले हाकिमलाई भनिसकेको बतायो र जागिर खाने भए भेट्न जाऊ समेतको आदेश उफार्‍यो । मनमनमा ‘दाइ’भन्दै मञ्जरी अन्कनाइन् ।

मनभरिको डर,जागिर खाने ठुलो रहर,देश, जनताको सेवाको भर,जे त होला भन्ने हिम्मतका साथ मञ्जरी तालिम केन्द्र पुगिन् । रमेशमानले हाकिमलाई भनेको साँचो रहेछ । देख्नासाथ–‘मलाई रमेश दाइले पठाउनु भएको ! मञ्जरीको मुखबाट आवाज ओर्लन नपाउँदै हाकिमले भित्र बोलाए र भने‘कति पढेकी छ्यौ ?’ ‘प्लस टुसम्म सर !’ मञ्जरीले भनिन ।

‘ए, भइहाल्छ,नजिकै आएर हात देखाऊ त’ भन्दै हात सुमसुम्यायो । मञ्जरीले हठात् हात आफूतिर थुतिन् । ‘किन जागिर खाने मन छैन र ?’ हाकिम उतर्सिए ।

‘मन त छ सर ! तर यस्तो तरिकाले होइन–इज्जतले, स्वाभिमानले, सम्मानले र पौरखले खाइन्छ ।’ पड्किइन् मञ्जरी । पुनः शरीर छुँदै ‘नाटक नगरी यता आइज’ पनि भन्दै हाकिम तानिरह्यो ।

मञ्जरीभित्रको महकालीपन बिउँझियो । उसले हात उचालेर गाला फुट्ने गरी एक थप्पड बजाई मजाले । “ऐइया !” हाकिमको आवाज । “तेरो जागिर तैँ खा” चर्को स्वरले, वरिपरिका सबैले सुन्ने गरी रिसाउँदै बेजोड गतिमा ढोका ढ्याम्म पारेर मञ्जरी बाहिरिइन् । हाकिम गाला हातले रगड्दै उनै गएतिर एकतमास हेरिरह्यो….हेरी मात्र रह्यो ।