अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा – अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ वैशाख १३ गते ७:०६ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको दावी गर्नुभएको छ । आज (मंगलबार) ललितपुरको सानेपामा मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको दावी गर्नुभएको छ ।

उहाँले नेपाली काँग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गालीगलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाउनुभयो । अध्यक्ष ओलीले उहाँले २०६२/०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको, र नेकपा एमालेको घोषणापत्र सारेको आरोप समेत लगाउनुभयो ।

उहाँले नेपाली काँग्रेससँग अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजना नभएको र काँग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको बताउनुभयो।अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाउनु भयो । उहाँले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताउनु भयो । अध्यक्ष ओलीले नेपाली काँग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको बताउनुभयो । उहाँले गठबन्धन नामको कुहिएको लौरो आसन्न स्थानीय निर्वाचनबाट सकिने दावी समेत गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभई केन्द्र भएको दावी गर्नुभयो । चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उहाँको तर्क थियो । अध्यक्ष ओलीले चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गर्नुभयो । उहाँले माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुराहरु भन्न नमिल्ने र झुट बोल्ने बाँकी कुरा नभएकोले ननिकालेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाउनुभयो । उहाँले हतारमा घोषणापत्र निकालेको समाजवादीको घोषणापत्रमा केही तुक नरहेको दावी गर्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यहि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उत्तेजक नबनीकन अगाडि बढ्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू