अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

गोरखा विनिथ द व्रेभरीको प्रिमियर सो न्यूयोर्कमा सम्पन्न

बिआरटीनेपाल २०७९ वैशाख १० गते ८:२२ मा प्रकाशित

पहिलो भिक्टोरिया क्रस (भिसी) उपाधि प्राप्त गर्ने गोरखा सैनिक कुलवीर थापाको कथामा बनेको चलचित्र गोरखा विनिथ द व्रेभरी न्यूयोर्कमा प्रदर्शन गरिएको छ ।

भिसी विजेता थापाले पहिलो विश्व युद्धमा देखाएको वीरताको सत्य घटनामा आधारित चलचित्र गोरखा विनिथ द व्रेभरी को प्रिमियर सो फ्लसिङको बम्बई थिएटरमा प्रदर्शन गरेको हो । विश्व युद्धमा नेपालीले गोरखा सैनिकको रूपमा देखाएको वीरता गाथामा व्यावसायिक चलचित्र बन्न सक्छ र बनाउनु पर्छ भन्ने लागेर पुर्खाहरूको योगदान समेटेर चलचित्र निर्माण गरेको निर्देशक प्रदीप शाहीले बताए । पहिलो अन्तर्राष्ट्रिय प्रिमियर सो अमेरिकी नेपाली समुदायको बिच गर्न पाउँदा खुसी लागेको बताउँदै निर्देशक शाहीले भने चलचित्र मार्फत नेपाललाई विश्वमा चिनाउने प्रयास हो, चलचित्रको प्रवर्द्धनका लागि प्रचारप्रसारमा सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु ।

त्यस्तै, प्रोड्युसर मधु गुरुङले चलचित्र प्रदर्शनका लागि नेपाली समुदायको साथ र सहयोगप्रति धन्यवाद दिँदै गोरखाहरूले समानताको लागि लडेको आन्दोलनमा सहयोग पुग्ने अपेक्षा रहेको बताइन् । प्रोड्युसर गुरुङले भनिन्, पुर्खाहरूको इतिहासलाई चलचित्रको रूपमा ल्याउन ३ वर्ष लागे पनि अहिले चलचित्र विभिन्न मुलुकमा प्रदर्शन गर्ने क्रममा दर्शकको उपस्थिति र सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको छ, जसले हामी चलचित्र निर्माता टिमलाई ऊर्जा थपेको छ । त्यस्तै, नायक समीर गुरुङले अमेरिकामा पनि नेपालीहरूको उपस्थिति र सहयोग पाउँदा आफूलाई गर्व लागेको बताए । चलचित्र प्रदशनीपछि कार्यक्रममा द गुरुङ तमु सोसाइटी इंकका संस्थापक अध्यक्ष तुलसी गुरुङ, सोसाइटीका अध्यक्ष तोरण गुरुङले तथा तमु महिला दिदी बहिनीको समूहको तर्फबाट सिद्धार्थ गुरुङ, पार्वती गुरुङ तथा चन्दा गुरुङले निर्देशक शाही, प्रोड्युसर मधु गुरुङ र नायक समीर गुरुङलाई फेटा तथा सल ओढाएर सम्मान गरेका थिए ।

लाइट आउट एन्टरटेन्मेन्टको आयोजनामा भएको प्रिमियर सो पहिले रेड कार्पेट आयोजना गरिएको आयोजक ओम गुरुङले जानकारी दिए । सो अन्तर्गत अवार्ड विजेता लेखक तथा निर्देशक प्रदीप शाही, प्रोड्युसर मधु गुरुङ, प्रमुख नायक समीर गुरुङसँग दर्शकहरूले प्रत्यक्ष भेटघाट गरी फोटो लिन सकिने व्यवस्था मिलाइएको आयोजक मध्यका अन्जित गुरुङले जानकारी दिए । चलचित्र प्रदर्शनपछि दर्शकहरूले चलचित्रले गोरखाहरूको योगदान समेटेको राम्रो भएको प्रतिक्रिया दिएका छन् । चलचित्र हेर्न हल पुगेकी गायिका आस्था राउतले नेपालीले गर्व गर्न लायकको चलचित्र बनेको प्रतिक्रिया दिइन् । नेपाली मात्र नभएर विदेशी नागरिकहरू समेत चलचित्र हेर्नका लागि हल पुगेका थिए । छोटो समयको बिच चलचित्र प्रदर्शन गरे पनि लगभग १ सय ७० जना दर्शकहरू सहभागी थिए । नेपालीको गौरव, साहस र सद्भावको कथा समेटेर बनाएको चलचित्र १ घण्टा १५ मिनेट लामो छ ।

प्रिमियर सोबाट उठेको सम्पूर्ण रकम गोरखा कल्याणकारी कोषमा डोनेट गरिने आयोजकले जनाएको छ । एसएचवाइ प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायाङ्कन बेलायतमा गरिएको हो । चलचित्रको प्रिमियर सो यस अघि बेलायतमा गरिएको थियो । गोरखालीहरूको बहादुरी, करुणा र मित्रताको सन्देशलाई चलचित्र मार्फत विश्व सामु पुर्‍याउने मद्दत पुग्ने बताउँदै आयोजक गौतम गुरुङले चलचित्रलाई अमेरिकाका विभिन्न सहरहरूमा प्रदर्शन गरिने जानकारी दिए । चलचित्र नेपाल, सिंगापुर, अस्ट्रेलिया लगायत देशमा पनि प्रदर्शन गर्ने योजना रहेको निर्माता टिमको भनाई छ ।

प्रतिक्रिया