अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

खेलौँ हामी

इन्दु पन्त २०७९ वैशाख ६ गते १९:३५ मा प्रकाशित

वसन्त बहार आयो
धर्तीमा रङ्ग छायो
पुतली र फूलको खेल हेरी
यो मन साह्रै रमायो !

फूलका ती रङ्ग लिएर
खेलौँ हामी रमेर
भोलिको रङ्ग के छ , के छ !
आजै खेलौँ जमेर !

कल्मष मनको पखाली
खोली यो दिलको द्वार
हर्ष उमङ्ग बोकी
बनाऊँ जीवन अपार !!

उषाको रङ्ग मागी
धरा यो धाम मानी
हिमाली सेतो घरमा
पोतिदिऊँ अझै लाली !!

सङ्गीतको धुन मीठो
रङ्गको त्यो रूप मीठो
सबैभन्दा अझै अर्को
प्रेमको त्यो स्वाद मीठो !!

मीठो प्रेम बाँडी बाँडी
सद्- भावना साटी साटी
मनको विकार सबै फाली
खेलौँ हामी सबै मिली !!

———–
चण्डोल , काठमाडौँ ।

प्रतिक्रिया