अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

सिट सीमित छ !

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ वैशाख ५ गते १८:५६ मा प्रकाशित

प्रश्नपत्र बनाउने
हाम्रै मान्छे छन्
जाँच चलाउने
परीक्षाको कापी हेर्ने
नतिजा सबै मिलाउने पनि
हाम्रै मान्छे छन्
अङ्क राम्रै मिल्छ
अन्त कतै नजानुहोस्
राम्रो हाम्रै स्कुल र कलेज छ
भर्ना छिटै हुनुहोस्
सिट सीमित छ !

कतै धेरै धाउनै पर्दैन
किताब-कापी किन्ने
हाम्रै राम्रो पसल छ
टाई,पेटी,जुत्ता,मोजा र पोसाक
सबै सबै एकै ठाउँमा किन्न पाउने
पसल पनि हाम्रै छ
बजारमा धेरै छन् – स्कुल र कलेज
माल सक्कली चिन्नुहोस्
हाम्रैमा भर्ना छिटै हुनुहोस्
सिट सीमित छ !

प्रयोगशाला र पुस्तकालय
हाम्रै सबैको भन्दा राम्रो छ
अतिरिक्त क्रियाकलाप
खेलमैदान ,खेलका सामग्री
कम्प्युटर ,विशेषज्ञ प्राध्यापक
वातानुकूलित कक्षा
डाक्टरको परामर्श
स्वास्थ्य परीक्षण
वनभोज,भ्रमण, मनोरञ्जन
पौडीपोखरी ,घोडसवार
स्वस्थ पिउने पानी ,भोजनालय
सुग्घर शौचालय
बसको प्रबन्ध
सबै ठीकठाक छ
हाम्रै स्कुल र कलेजमा
भर्ना छिटै हुनुहोस्
सिट सीमित छ !!

शिक्षक सबै इमानदार छन्
पैसा घटाए पनि पढाउँछन्
पैसा दुईचार महिनामै
दिए पनि पढाउँछन्
नदिए पनि पढाउँछन्
कटाए पनि पढाउँछन्
भोक-तिर्खा पचाएर पढाउँछन्
रोग-व्याधिले सताए पनि पढाउँछन्
दिनरात नभनी पढाउँछन्
छाती दुखे पनि पढाउँछन्
घाँटी सुके पनि पढाउँछन्
पढाइको कुनै चिन्ता लिनै पर्दैन ।

देश सरकार चलाओस्
स्कुल र कलेज हामी चलाउँछौँ
शिक्षा सेवा हो
यो हाम्रो व्यापार होइन
तपाइँहरू इसारा बुझ्नुहोस्
भर्ना छिटै हुनुहोस्
सिट सीमित छ !

युगीन गुणस्तरीय शिक्षाको
आवश्यकता बुझेर
अनुभवी र योग्य
सञ्चालकहरूले चलाएको
हाम्रै स्कुल र कलेजमा पढेर
तपाइँहरू आफ्नो भविष्य
उज्ज्वल बनाउनुहोस् !
अन्त कतैको भर नपर्नुहोस्
हाम्रैमा भर्ना छिटै हुनुहोस्
सिट सीमित छ !!
——————-

गोरखा,लप्सीबोट; हाल: सरस्वतीनगर , काठमाडौँ -६ ।