अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४३ | Colorodo: 14:58

दृष्टि

इन्दु पन्त २०७९ वैशाख १ गते १४:५३ मा प्रकाशित

कवि पातमा जीवन बाँचेको, मरेको देख्छ
कोपिला फक्रँदै गर्दा जवानी चढेको देख्छ
अकवि कोमल फूल लत्त्याउँदै अघि बढ्दछ
कवि द्रवित हुँदै तिनैको धुलो झार्दछ ।

पुतली र भ्रमरका क्रीडामा कवि दङ्ग छ
दुनियाँ छ कता ! कता !! ऊ आफैँमा मग्न छ
कवि माली बागको सुगन्ध दिलमा भर्दछ
कवि चन्द्र बनी ताराले पोल्टा भर्न खोज्दछ ।

झरनाको साथमा स्वयम् कवि चट्टानबाट झर्छ
नदीरूप लिई फेरि सागरसँग मिल्न जान्छ
सागरको गहिराइमा शब्दको मोती टिप्छ
मन-मस्तिष्कभरि कवि रचनारस खन्याउँछ ।

भावैभावको नाउ चढी उत्ताल लहर चुमिदिन्छ
त्यही नाउ खियाउँदै पर क्षितिज छुन पुग्छ
उदाउँदो घामको किरण आफैँभित्र फिजाउँछ
बादलको थुम्का भेटे कवि त्यतै उड्न थाल्छ ।

कविलाई उड्नुपर्दा कुनै प्वाँख चाहिँदैन
कविलाई सगर छुन हात पनि चाहिँदैन
कवि बोल्छ कवितामा त्यसैसित रमाउँछ
सत्य शिव सुन्दर के ? कवितामै खुलाउँछ !!

– चण्डोल , काठमाडौँ ।

प्रतिक्रिया