अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 23:08

किन आइरहन्छ आँसु ?

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७८ चैत २९ गते २१:०१ मा प्रकाशित

झरेर हुरीमा उडेका पातहरू
क्षितिजपारि कता विलीन हुन्छन् ?
फेरि फर्किँदैनन् कहिल्यै बोटमा
हावा भरिएर
हावामै उड्ने त हुन् बेलुन !
हावा नरहेभित्र
ती पनि कतै
नउड्ने गरी सिरानी हाल्छन् ।

ढोका खुलेपछि
बस्दैन पिँजरामा – चरा
रस चुस्न थाकेपछि
पलाउँदैन कुनै पनि – जरा !

गएकाहरू आकाश हुन्छन् अरे
भएका भए
छातीमा तक्माजस्तै गरी
जून, घाम र ताराहरू
सजाइरहेका होलान् !
धरती हुन्छन् अरे
भएका भए
काँडा र फूलहरूलाई विनाभेद
मायाले काख लिइरहेका होलान् !
तेज हुन्छन् अरे
भएका भए
दीप दीपमा शिर उठाइरहेका होलान् !
वायु हुन्छन् अरे
भएका भए
प्राण प्राणमा चलिरहेका होलान् !
जल हुन्छन् अरे
भएका भए
बाफ र बरफको चक्रमा घुम्दै
धरतीमा रसदान गरिरहेका होलान् !

पूजाअघिका पवित्र फूलहरू
पूजाको समाप्तिसँगै
फोहोरमा बदलिन्छन्
पुराना खेस्रा कागतहरू बढारिन्छन्
ती कुनै दराजमा
आसन जमाउँदैनन् ।

तैपनि सपनालाई नै
बिपनाको झल्को दिँदै
कल्पिरहन्छ – मन किन ?
चम्किरहेका आँखाहरू भिजाउँदै
बालुवामा विलीन हुन
आइरहन्छ आँसु खै किन ?
***
गोरखा, लप्सीबोट; हाल: सरस्वतीनगर; काठमाडौँ – ६ ।