अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

फेरि पनि शुभकामना !

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७८ चैत १९ गते १३:५५ मा प्रकाशित

विगत वर्षहरूमा
डालीमा पालुवा पलाएको बेला
त्यता हेर्दै उमङ्गका साथ
हामीले नयाँ वर्षको शुभकामना
परस्पर साटेका थियौँ
समयको कोर्राले हान्दा हान्दै
ती पालुवाहरू
थोत्रिँदै/ सुक्दै झरेछन्
हाम्रा शुभकामनाका नियति पनि
तिनका भन्दा सायद फरक छैनन् !

डालीमा फेरि पलुवा पलाएका छन्
झर्नुको सूचनालाई पहिले नै स्विकार्दै
चरा चिर्बिराएका बेला
उता आउने
घाम/ पानी
जाडो/ हुरी
सबैलाई बिर्सिएर
लागौँ -शुभकामनाका कार्डहरू छाप्न
लागौँ- शुभकामनाका कार्डहरू बाँड्न !

जुन हिसाब- किताब मिलाउन
भाँचिने औँलाहरू छन्
ती पनि आधी आयु सुतेरै
चलमलाएका हुन्
भोलिको उपक्रममा थपिने पनि त
आखिर निद्रा नै त हो !

आँखाको ज्योतिले भ्याउन्जेल
मौसम सङ्लिएको बेला
उसरी नै
मन पनि सङ्लिएर
जीवन हुनुको सङ्केतमा
परस्पर हात जोरौँ
नसुक्नु अघिको हरियाली बोकेर
पालुवाको छहारीमा
शुभकामनाहरू बाँडौँ
हावामा तिनका फिर्फिरजस्तै
गीत-सङ्गीतको तानाबानामा
हामी फेरि पाइला उचालौँ
झर्दै गएको आफ्नो वयलाई बिर्सिएर
फेरि पनि हामी
नयाँ वर्ष
भव्य रूपमा मनाऔँ !!

=========
गोरखा, लप्सी बोट; हाल: काठमाडौँ – ६, सरस्वतीनगर ।