अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

अभ्यास

गोपीराम भण्डारी 'बटुवा' २०७८ चैत १८ गते १७:०१ मा प्रकाशित

कथा

प्रयोगात्मक अभ्यास गरिरहेका विद्यार्थीलाई शिक्षकले आदेश दिए । गाग्रीको मुखमा बिर्को लगाऊ, पानीमा धुलो पर्छ । विद्यार्थीले सामूहिक स्वरमा भने, सर हामीले अभ्यास गरिरहेका छौ । शिक्षक रिसाउँदै के खाक अभ्यास ? काम,धाम उल्टो गर्ने अभ्यास? शिक्षकको कुरा नसिद्धिँदै समूहमै ठुलो स्वरमा विद्यार्थीहरूले उत्तर दिए “हो सर” । तिमीहरू बदमास भएको ? समूहमा हल्ला गर्ने? शिक्षक कड्किए । विद्यार्थी पनि के कम । कक्षाकोठामा सबै टेबुल उत्तानो पारे र बेन्चमाथि सबै उभिएर हल्ला गर्न थाले । शिक्षकको पारो तात्यो । छडी उठाएर हिर्काउन खोजे । विद्यार्थी एउटै स्वरमा चिच्याउँदै भने, खबरदार कसैलाई कसैले छुने हैन । भए पास नभए अभ्यास । शिक्षक हच्किए ।

छडी भुईँमा फ्याँक्दै नम्र स्वरमा फकाउँदै भने “भाइ बहिनीहरूको समस्या के हो” ? विद्यार्थीले उत्तरदिदै “गुरु यो हाम्रो होइन, यो त हाम्रो मातृभूमिको समस्या हो । हामीले त कक्षाबाटै समाधानको अभ्यास गरेका हौ । सत्य जे भए पनि भिडले जे गर्छ त्यही हुन्छ हैन र “? विद्यार्थीले प्रश्न गरे । बुझाउन कोसिस गर्दै, हेर यो कक्षा हो । सदन होइन । यो राजनीति गर्ने ठाउँ होइन । विद्यार्थीले फेरी प्रश्न गरे । “त्यसो भए शिक्षालयमा चुनाव किन ? हरेक क्षेत्रमा समूह भए जे गर्न पनि मिल्छ हैन र सर ? विधि पद्धति र कानुन त धुलो जस्तै त हो नि सर । अनि हामी बिर्को लगाएको गाग्री ,कसरी हुन्छ” ? शिक्षकले सम्झाउँदै भने । अनुशासन, मर्यादा कसैले नाघ्नु हुँदैन । कानुन भन्दामाथि, सत्य भन्दा जाति केही हुँदैन । एउटा विद्यार्थीले बिचैमा प्याच्च भन्यो । “कानुन मिचेर ठुलो बनिन्छ हैन र गुरु ? अब हामी पनि ठुलै हुने हो । शिक्षकले हात उठाउँदै भने होइन, होइन सुन भन्दै थिए । गुरुले नै हामीलाई देशका कर्णधार भनेको होइन ?

सबै जना हो, हो ,यो हाम्रो देश निर्माणको घोषणापत्र हो । आजैबाट लागु हुन्छ भन्दै हातमा ढुङ्गा समातेर विद्यार्थी टेबुल पछार्दै हिँडे । स्कुलको घण्टी बज्यो । अवस्था ल्याउने व्यवस्थापकको घण्टी बज्यो वा बजेन ? विद्यार्थी निस्किए । शिक्षकले पुर्पुरोमा हात राख्दै भने “देश त प्रयोगशाला बनाए बनाए,अब विद्यालयमा समेत घोषणाको अभ्यास ! “घोषणा हावामा उडिरह्यो। फेरी अर्को अभ्यास गर्न । शिक्षकले शब्द कोषमा अभ्यासको अर्थ खोजी रहे । सायद भेटियो कि !!!