अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

कोलोराडोमा नेपालीभाषीको सांस्कृतिक केन्द्र किनियो

बिआरटीनेपाल २०७८ चैत १५ गते २२:२५ मा प्रकाशित

कोलोराडो । अमेरिकाको कोलोराडोमा नेपालीभाषीको लागि कम्युनिटी सेन्टरको लागि भवन ९,५०,००० डलरमा हिजो एक समारोह बिच खरिद गरिएको छ । वेस्टमिनिष्टर स्थित चर्ज हिजो देखी नेपाली तथा नेपाली भाषीको भएको छ ।

अरोरा स्थित भिलेज एक्सचेन्ज सेन्टरमा हिजो सम्पन्न भवन क्लोजिंग कार्यक्रममा फस्ट बैङ्कका लोन अफिसर ज्याक क्लर्कले ल्याएको पेपरमा भवन खरिदको लागी ३ जना पर्सनल ग्यारेन्टरहरु नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, योगराज गौतम र वर्तमान उपाध्यक्ष वसन्त लम्सालले हस्ताक्षर गरेका थिए भने टाइटल कम्पनीका प्रतिनिधीसंग नेपाली घरका तर्फबाट वर्तमान कार्यसमितिमा रहेका अध्यक्ष जगदीशचन्द्र ढकाल, महासचिव भोला कटुवाल, कोशाध्यक्ष राजु खनाल, निवर्तमान अध्यक्ष लछुमन राना साथै ३ जना ग्यारेन्टर सहित ७ जनाले हस्ताक्षर गरेका थिए । हस्ताक्षर पछि सेलरका एजेन्ट ग्रेग नटले संस्थाका अध्यक्ष जगदीशचन्द्र ढकाललाई भवनको कोड (चाबी) हस्तान्तरण गरेका थिए ।

कोलोराडोको वेष्टमिनिस्टर सहरमा स्थित २.१७ एकडमा रहेको चर्ज खरिद गर्न फस्ट बैङ्कले ६ लाख १७ हजार ५ सय डलर लोन ४.६ प्रतिसत ब्याजमा दिएको छ भने डाउन पेमेन्ट भवनको लागी ३ लाख ७ हजार ५ सय डलर भुक्तानी गरिएको संस्थाका महासचिव भोला कटुवालले बताएका छन् । महासचिव कटुवाल अनुसार अब संस्थाले हरेक महिना लोनको किस्ता स्वरूप ४,१९० डलर ( मोर्गेज ३,३३६ डलर+ईन्सुरेन्स ८५४ डलर) बुझाउनु पर्ने छ । आगामी दुई वर्षका लागि करिब १०८ जनाले महिनाको ५० डलरका दरले मोर्गेज कन्ट्रिब्युटरको रुपमा प्रतिबद्धता जनाउनु भएको जानकारी पनि महासचिवले दिए ।

खरिद प्रक्रिया सम्पन्न भएपछि सोही स्थानमा सम्पन्न औपचारिक कार्यक्रमको अध्यक्षतामा नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले गरेका थिए भने कार्यक्रम त्यहाँ उपस्थित विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूले शुभकामना मन्तव्य दिएका थिए । यसरी शुभकामना दिनेहरूमा भवन खरिद समितिका संयोजक तथा निवर्तमान अध्यक्ष लछुमन राना, पूर्व अध्यक्ष तथा सल्लाहकार नारायण श्रेष्ठ, प्रेसाइडिङ कमिटीका सदस्य डा.विजयराज शर्मा, एनआरएन अमेरिकाका केन्द्रीय सदस्य राज ढुङ्गाना, प्रेसाइडिङ कमिटीका सदस्य पदम विश्वकर्मा रहेका थिए । हामी तमु धिको तर्फबाट धेरै खुसी छौ, साथै तपाइहरू सबैलाई धेरै धेरै बधाई भन्दै तमु धिका अध्यक्ष चन्द्रमान गुरुङले २००५ डलरको चेक हस्तान्तरण गरेका थिए ।

त्यसै गरी शुभकामना दिनेहरूमा अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्त, बौद्ध समाजका सोनाम शेर्पा, एनआरएन कोलोराडो च्याप्टरका पूर्व अध्यक्षहरू कुमारजङ्ग कार्की र वासुदेव खनाल रहेका थिए ।

कार्यक्रमको अन्तमा नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले सम्पूर्ण दाताहरू, उपस्थित महानुभावहरूलाई धन्यवाद दिँदै भोलिका दिनमा पनि सबैको साथ र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै आगामी अप्रिल ३ तारिख आइतबार ह्याम्टनको याक एन्ड यती रेस्टुरेन्टमा आउन सबैलाई निम्तो दिँदै कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त दिन नेपाली घरले सिलिब्रेसन डिनरको आयोजना गरेको छ ।

२०१० को फागु पूर्णिमाको दिन देखी नेपाली सांस्कृतिक केन्द्र नेपाली घर निर्माणको लागी सुरु गरिएको अभियानले आज पूर्ण रूप लिएकोमा सबै नेपाली भाषी समुदाय हर्षित भएका छन् । उक्त कार्यक्रम वक्ताहरूले स्व. विष्णु श्रेष्ठको नेपाली घर प्रतिको देन तथा नेपाली घरको कार्यक्रम ल्याउने हरि अधिकारीलाई पनि सम्झेका थिए ।

कार्यक्रमको सन्चालन महासचिब भोला कटुवालले गरेका थिए ।

 

प्रतिक्रिया