अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

‘जीवनका वक्ररेखा’मा प्रतिविम्वित विजय चालिसे

युवराज मैनाली २०७८ चैत १० गते २०:४१ मा प्रकाशित

समीक्षा
नेपाली साहित्यमा विजय चालिसे बहुविधाका सर्जक हुन् । कविताबाट नेपाली साहित्यमा प्रवेश गरेका चालिसे मूलतः आख्यानकार हुन् । कविता, कथा, उपन्यास, बाल साहित्य, निबन्ध, नियात्रा, पत्रकारिता, संस्कृति सबै विषयमा उनको कलम सशक्त रूपले चलेको देखिन्छ । आफ्ना पिता रमेश विकलकै साहित्यिक मान्यतामा साहित्य स्वान्त सुखाय मात्र होइन, सामाजिक रूपान्तरणका लागि हुनुपर्छ भन्ने मान्यतामा उनको साहित्य यात्रा अघि बढ्छ । लेखन, सम्पादन, अनुवादन, संस्था स्थापन, पुरस्कारको व्यवस्थापन समेतबाट उनी साहित्यको श्रीवृद्धिमा निरन्तर लागि रहेकै छन् । उनले साहित्यमा पु¥याएको योगदान र निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै विभिन्न साहित्यिक संस्थाबाट उनी पुरस्कृत, सम्मानित र अभिनन्दित छन् ।

दर्जनौँ कृतिका श्रष्टा विजय चालिसे अहिले आएर ५४ औँ कृतिको रूपमा जीवनका वक्ररेखा लिएर पाठक सामु उपस्थित छन् । सुरभि साहित्य प्रतिष्ठानबाट प्रकाशित यस कृतिमा आफ्नै जीवनमा देखे—भोगेका र सुनेका अनुभव र अनुभूतिलाई विषयको रूपमा लिएका छन् । नौ खण्डमा विभाजित यस कृतिमा लेखकले आफ्नो जन्म, बाल्यकाल, अरूवारि गाउँ र त्यसका वरपरका सेरोफेरो समेत वर्णन गर्दै चालिसेहरूको उत्पत्ति, विकास—विस्तार र काठमाडौँ आगमन सम्मका कुराहरूका साथै गाउँ समाजका तत्कालीन समयका भोगाई, संस्कार, संस्कृति, शिक्षा, परिवार, समाज, सबैको सविस्तार वर्णन गरेर काँठे ग्रामीण समाजको सजीव चित्रण उतारेका छन् ।

नेपालको राजनीतिमा २००८ सालको खुकुरी दलको प्रसङ्ग, संसदीय व्यवस्था, २०१७ सालको घटना, पञ्चायती शासन व्यवस्था, त्यसले समाजमा गरेको शोषण,दमन, समकालीन विश्व राजनीतिक परिवेश, पाकिस्तानी प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोको फाँसीको विरोध र त्यसपछि सिर्जना भएको माहौल, राजाबाट जनमत सङ्ग्रहको घोषणा, पञ्चायतको कपटपूर्ण विजय, पञ्चायती विरोधी गतिविधि, २०४२ सालको नेपाली काँग्रेसको सत्याग्रह, बम विस्फोटको घटना, सत्याग्रह फिर्ता, २०४६ सालको संयुक्त जनआन्दोलन, नेपाली काँग्रेसको सरकार, अन्तर्द्वन्द्व, निर्वाचनमा पराजय, एमालेको नौ महिने सरकार, त्यसका सुधार लगायतका राजनीतिक घटनाक्रमहरूको उल्लेख्य वर्णन गरिएको छ । यसै गरी २०५८ को दरबार हत्याकाण्ड, ज्ञानेन्द्रको शासन, माओवादी विद्रोह र त्यसले देशमा पु¥याएको सङ्कट, २०६३ को जनआन्दोलन र गणतन्त्र घोषणा, संविधान सभाको चुनाव, संविधान निर्माण, त्यसपछिको निर्वाचन, माओवादीको सरकार देखि पतन सम्मका कुरा र त्यसपछिका सरकार र राजनीतिक माहौल सम्मका कुराहरू रिट्ठो नबिराई वर्णन गरिएको छ ।

पुस्तकमा तत्कालीन काठमाडौँ र वरपरका काँठे गाउँहरूको समाजमा मनाईदैं आएका सांस्कृतिक पर्वहरू माघे संक्रान्ति, साउने संक्रान्ति, दसैँ—तिहार, चाडबाड, स्थानीय लाखे जात्रा, तिमाल जात्रा, रोपाइँ जात्रा, गाईजात्रा मनाउने चलन चल्तीका प्रसङ्गहरू उल्लेख छन् । तत्कालीन समाजका बिहेवारि, उपनयन संस्कारका पुराना विधि र प्रचलन जस्तोको तस्तै छन् ।

आफ्नै जीवनका सङ्घर्षहरू, शिक्षादेखि जीवन यापनका लागि गरिएका कामकाजी अनुभवहरूलाई पनि संस्मरणका विषय बनाएका छन् । देशको एउटै मात्र सरकारी पत्रिका गोरखापत्रमा सातौँ तहदेखि नेतृत्व तहसम्मको उतार चढाबलाई उल्लेख गर्दै गोरखापत्रमा आइपर्ने राजनीतिक दबाबका कुरा र अस्वतन्त्रताका मनोभावना समेत उल्लेख गरेका छन् ।

विजय चालिसेले साहित्यिक यात्रामा भोगेका विभिन्न भोगाइहरू स्वनामधन्य भनिएका अग्रजहरूको व्यवहार, आफ्नो साहित्यिक यात्रा, प्रसिद्ध कथाकार रमेश विकलको नाममा स्थापित विकल साहित्य प्रतिष्ठानको सञ्चालन र संरक्षण गरेका अनुभव पनि बताएका छन् । २०७२ सालमा आएको प्रलयकारी भूकम्प र त्यसका विभिन्न पराकम्पनबाट देश र आफू समेतले भोग्नु परेको त्रासदी, क्यान्सरका कारण आफ्नो जीवन सङ्गिनीको निधन, कोरोना र त्यसबाट सिर्जना भएको लकडाउनको समस्या सम्मका कुराहरू पनि छन् ।

व्यक्ति स्वयंले आफैलाई विषय बनाएर लेखिने साहित्य हो आत्मसंस्मरण । यो निबन्धकै एउटा प्रकार हो जसमा लेखकले आफ्नो भोगाई मात्र होइन देश, काल, समाज सबैको कुशलता पूर्वक वर्णन गरेको हुन्छ । वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेले खारिएको शैली, माझिएको विचार र विषयवस्तुको गहिराई र रोचक प्रस्तुतीकरणले यस कृतिलाई सशक्त बनाएका छन् । तर कतिपय शीर्षकमा एकपक्षीय विचार जस्तो लाग्ने र केहीमा पात्रहरूको नाम उल्लेखको कमी भने महसुस हुन्छ । उनका पिता मात्र नभएर प्रसिद्ध साहित्यकार भएकाले रमेश विकलको विषयमा अझै गहन विषको उठान भइदिएको भए हुन्थ्यो भन्ने भान हुन्छ । तर, घटनाक्रम, परिवेश र उल्लेखीकरण सही, सत्य र यथार्थ धरातलमा उभिएर गरिनु आफैँमा महत्त्व राख्दछ । आत्मसंस्मरणको सौन्दर्य यही हो । यसलाई विजय चालिसेले आत्मसात् गरेका छन् ।

यसरी आफ्नो बाल्यकालदेखि सत्तरी वर्षसम्मका घटना परिघटनालाई सजीव रूपमा उतारेर विजय चालिसेले प्रस्तुत कृतिलाई २००८ सालदेखि ०७७ सम्मको राष्ट्रको सम्पूर्ण ऐना नै देखाएका छन् । कृति यिनै विशेषताका कारण उल्लेखनीय, पठनीय र संग्रहणीय सम्म बनेको छ र विजय चालिसे आत्मसंस्मरण स्रष्टाहरूको पङ्तिमा दरो रूपमा उभिएका छन् ।